• १३ साउन २०८१, आइतबार

लोकगायक जोशीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

blog

दमक (झापा), साउन १३  गते । लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी) को निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ । कलाकार जोशीको आज अन्तिम बिदाइ भएको उल्लेख गर्नुहुँदै प्रम ओलीले हार्दिक श्रद्धासहित उच्च सम्मान व्यक्त गर्नुभएको हो । 

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जोशी अरूका लागि आदरणीय सङ्गीतकार र गायक रहेको उल्लेख गर्नुभयो । “हामी दुवै दमकवासी, त्यसैले मेरा लागि उहाँ आत्मीय मित्र अनि दाइ, सबै हुनुहुन्थ्यो”, उहाँले ‘फेसबुक पेज’मा लेख्नुभएको छ । 

स्थानीय शोक बिदा

त्यसैगरी, जोशी (एलपी) को निधनमा आज दमक नगरपालिकाले आधा दिन स्थानीय शोक बिदा दिएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले आज सूचना प्रकाशित गर्दै स्व जोशीको निधनमा श्रद्धाञ्जली अपर्ण गर्दै आज दिउँसो १ बजेपछि दमक नगरपालिका नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालयहरु, शैक्षिक संस्थाहरुमा (दमक अस्पतालबाहेक) शोक बिदा दिइएको जानकारी दिनुभयो । शोक विज्ञप्तिमा स्व जोशीले गीतसङ्गीत, साहित्य, खेलकुद तथा कलाकर्मीका रुपमा दमक मात्र नभएर सिङ्गो देशका लागि पु-याउनुभएको योगदान स्मरणीय रहने उल्लेख छ ।

 दमक–१ निवासी स्व. जोशीको ८८ वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो । उहाँको पार्थिव शरीर आज दिउँसो कन्काई नदी किनारमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँले गाउनुभएको ‘रिटिङ रिटिङ नबजाऊ विनायो’, ‘वल्लो खोलो, पल्लो खोलो, कमिलाको गोलो भनेर हौ रानाज्यू’ लगायतका दर्जनौँ गीत चर्चित छन् । उहाँ विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरुबाट सम्मानित हुनुहुन्थ्यो ।

स्व जोशीका श्रीमती बिन्दा, छोरा पूजनको निधन भइसकेको छ । हाल छोरा मिलनसहित बुहारी, नाति नातिनीसँग बस्दै आउनुभएको थियो । उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन आज बिहानदेखि दमक नगरपालिका परिसरमा राखिएको छ । रासस