• १३ साउन २०८१, आइतबार

पानीघट्ट बगाएपछि पिसानीमा समस्या

blog

स्थानीय रुन्चेत खोला ।

गुणबहादुर रोका

सुलीकोट, साउन १३ गते । उत्तरी गोरखको धार्चे गाउँपालिका –२ को रुन्चेतमा ३ वटा पानीघट्ट बाढीले बगाएको छ । करिब ३ सय घरधुरीलाई अन्न पिसानीका लागि अहिले समस्या परेको छ । 

मङ्गलबार रुन्चेत खोलामा आएको बाढीले खोलाको किनारमा रहेको ४ वटा पानी घट्टमध्ये ३ वटा पानी घट्टा बगाएको र एउटामा पूर्ण रुपमा क्षति भएको छ । २०५४ सालबाट पानीघट्ट सञ्चालन गर्दै आउनुभएका नेवार गुरुङले पानी घट्टभित्रको जाँतो, मदानी र त्रिपाल लगायतका सबै सामान बाढीले बगाएको जानकारी दिनुभयो ।

रुन्चेत खोलामा भएको ४ वटा पानीघट्ट बाढीले बगाएपछि स्थानीयहरु पिसानीका लागि चिन्तामा छन् । उत्तरी गोरखाको रुन्चेतमा केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेकाले पनि स्थानीय लघु जलविद्युतबाट केही बर्ष अघिसम्म मिल सञ्चालनमा थियो । 

हाल उक्त मिल पनि सञ्चालनमा नभएकाले पनि यो घट्टले गाउँका सबैलाई राहत भएको थियो, ‘अब हिउँद नलागी यो बर्खामा तत्काल बनाइ हाल्न पनि सम्भब छैन’ नेबार गुरुङले भन्नुभयो । 

रुन्चेत खोलाको प्रत्येक घट्टमा दैनिक १२ देखि १५ जनासम्म स्थानीयले अन्न पिसानी गर्ने गरेका थिए । अन्न पिसानीको मुख्य साधनको रुपमा रहेको घट्ट बगाएपछि सञ्चालन पनि अन्याेलमा परेको स्थानीयको भनाइ छ । एउटा घट्टको लागि कम्तीमा १ लाख देखि १ लाख ५० हजार रुपियाँसम्म खर्च लाग्ने घट्ट सञ्चालक गुरुङको भनाइ छ । 

पहिलाको ठाउँमा बनाउन गाह्रो छ, गुरुङले भन्नुभयो, ‘पानी ल्याउन कुलो चाहिन्छ कुलो नै बगाएर लगेपछि अब कहाँ बनाउने भन्ने अन्यौल भएको छ ।’ घट्टमा अन्न पिसेबापत १ पाथीको १५ रुपियाँ लिने गरिएको घट्ट सञ्चालकले बताउनुभयो । 

घट्टमा पिसेको अन्न मिठो र स्वादिलो हुने भएकाले अधिकांश किसानले घट्टमै पिसेर खाने गरेका छन् । सबैको घरमा जाँतो नभएकाले पनि घट्टमा पिसेर खानु सबै स्थानीयको बाध्यता छ । जाँतोमा पिसेर दिनभर लाग्ने भएकाले पनि समयको बचत गर्न पनि घट्टमै पिस्नुपर्ने हुन्छ । 

उत्तरी गोरखामा धान खेती हुँदैन । त्यस ठाउँमा सबैभन्दा बढी उत्पादन हुने भनेको मकै, कोदो र गहुँ भएकाले पनि अन्न पिसानीको लागि रुन्चेत क्षेत्रमा अत्यधिक मात्रामा पानीघट्टको प्रयोग हुन्छ ।