• १३ साउन २०८१, आइतबार

नदी किनारामा ओलम्पिक उद्घाटन

blog

काठमाडौँ, साउन १३ गते । ओलम्पिकको उत्साह आठ वर्षपछि फर्केको छ । कोरोनाका कारण अघिल्लो संस्करणको उद्घाटन खल्लो भएकोलाई विस्मृतिमा ठेल्दै फ्रान्सको राजधानी पेरिसले शुक्रबार राति ३३ औँ ओलम्पिकको भव्य उद्घाटन गरी सोही सन्देश दियो । 

पछिल्लो संस्करण टोकियो ओलम्पिकमा कोभिडका कारण खेलाडी, समर्थक मात्र होइन, जापानी जनता पनि ओलम्पिकलाई लिएर उत्साहित थिएनन् । सबैले कोरोना भाइरसको डरमा ओलम्पिक खेलेका थिए ।

विश्वकै नजरमा रहेको खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता पेरिस ओलम्पिकको उद्घाटन समारोहले इतिहास पनि रच्यो । १२९ वर्ष लामो ओलम्पिकमा पहिलो पटक आयोजकले परम्परालाई तोड्दै रङ्गशालाबाहिर उद्घाटन समारोहको आयोजना गरिएको थियो । आयोजकले पेरिसको सिन नदीको किनारमा करिब तीन लाख दर्शकको उपस्थितिमा उद्घाटन गरेको हो । आआफ्नो देशको झन्डा बोकेका खेलाडीलाई डुङ्गा र ‘क्रुज’ मा राखेर सेन नदीमा गराइएको मार्चपास्ट उद्घाटन समारोहको प्रमुख आकर्षण थियो । २०६ देश तथा शरणार्थी टिमका करिब सात हजार खेलाडीले पेरिसको ऐतिहासिक सिन नदीबाट विभिन्न शैलीका ८५ डुङ्गामा बसेर उद्घाटन समारोहमा मार्चपास्ट गरेका थिए । 

सहभागीले सिन नदीबाट छ किलोमिटर दुरीको मार्चपास्ट गर्दा पेरिस सहरका बिचबिचमा विभिन्न आकर्षक कार्यक्रमको पनि मजा लिए । पेरिसस्थित पोन्ट दी अस्टरलिजबाट सुरु भएको मार्चपास्ट आइफल टावरमा पुगेर टुङ्गिएको थियो । 

मार्चपास्टको पहिलो स्थानमा ओलम्पिक सुरुवात भएको देश ग्रिस र त्यसपछि शरणार्थी टोली थिए । फ्रान्सेली वर्णमाला व्रmम अनुसार नेपाल परेडमा १३१ औँ स्थानमा रहेको थियो । नेपालका टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ र जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले मार्चपास्टमा नेपालको  झन्डा बोक्नुभएको थियो । लैङ्गिक समानतालाई ध्यानमा राखी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले टोकियो ओलम्पिक–२०२० को संस्करणदेखि पुरुष र महिला खेलाडीलाई मार्चपास्टमा राष्ट्रिय झन्डा बोक्न दिन सुरु गरेको हो । 

सो मार्चपास्टमा नेपाली टोलीका ‘सेफ दी मिसन’ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, एनओसीकी उपाध्यक्ष ज्योति राणा, एनओसीका सचिव रामजीबहादुर श्रेष्ठ, पौडी खेलाडी एलेक्जेन्डर शाह, डुवाना लामा र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पनि सहभागी हुनुहुन्थ्यो । म्याराथनमा प्रतिस्पर्धा गर्ने सन्तोषी श्रेष्ठ नेपाली टोलीमा अनुपस्थित हुनुहुन्थ्यो । सन्तोषी जुलाई ३० तारिखमा मात्र पेरिस पुग्नुहुने छ । सन्तोषीको खेल पेरिस ओलम्पिकको अन्तिम दिन रहेको छ । मार्चपास्टका लागि नेपालसहित नामिबिया र नाउरुको टोलीलाई एउटै डुङ्गामा राखिएको थियो ।

फ्रान्सका राष्ट्रपति इमानुअल माकरनले प्रतियोगिता सुरु भएको घोषणा गरेलगत्तै औपचारिक रूपमा पेरिस ओलम्पिकको आरम्भ भयो । सो घोषणालगत्तै १० हजार पाँच सय खेलाडी आआफ्नो देशलाई पदक दिलाउन सव्रिmय भएका छन् ।

यसै गरी फ्रान्सको झन्डा बोक्ने दुई खेलाडी फ्लोरेन्ट मानाडोउ र मेलिना रोवर्ट मिचनले सम्पूर्ण खेलाडीका तर्फबाट ओलम्पिक शपथ लिनुभयो । उहाँहरूले नियमको पालना गर्ने र फेयर प्ले खेल्ने शपथ लिनुभएको थियो । यसै गरी झरीको राति उडेको हट एयर बेलुनमा रहनुभएका फ्रान्सका जुडो च्याम्पियन टेडी रिनर र तीन पटकको ओलम्पिक च्याम्पियन धाविका मेरी जोस पेरेचले ओलम्पिक मसाल प्रज्ज्वलित गर्नुभयो । सो मसाल -यालीमा फुटबलका सुपरस्टार जिनेदिन जिदान, टेनिसका महान् खेलाडीहरू रोफल नाडाल र सेरेना विलियम्सले पनि भाग लिनुभएको थियो ।

करिब चार घण्टा लामो उद्घाटन समारोहमा पहिलो साङ्गीतिक प्रस्तुतिका रूपमा लेडी गागाले मनोरञ्जन दिनुभएको थियो । कार्यक्रम सूचीमा नाम नहुँदा विश्वकी चर्चित गायिका गागाको उपस्थितिले सबैलाई आश्चर्यमा पारेको थियो । यसै गरी गायिका सेलिन डियोनको पुनरागमन प्रस्तुति भावनात्मक रह्यो । दुई वर्षअघि रोगका कारण उहाँले गाउन छोड्नुभएको थियो ।

पेरिस ओलम्पिकमा कुल ३२ खेलमा ३२९ इभेन्ट्स खेलाइने छ । जसका लागि ३० हजार स्वयंसेवक परिचालन गरिने छ । डोपिङ टेस्टका लागि मात्र छ हजार कर्मचारी हुने छन् । 

ओलम्पिकका लागि पेरिसमा मात्र १५ खेल स्थल छन्, जहाँ ३२ मध्ये २१ खेल सञ्चालन हुने छन् । अन्य खेल पेरिसआसपासका सहरमा गरिने छ । १७ दिनको प्रतिस्पर्धापछि पेरिस ओलम्पिकको समापन हुने छ । त्यसपछि पेरिस पारालम्पिकको प्रारम्भ हुने छ । पेरिस पारालम्पिकमा चार हजार चार सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।