• १८ असार २०८१, मङ्गलबार

‘निर्वाचनले संवैधानिक उपलब्धिको रक्षा गर्छ’

blog

गोरखापत्र समाचारदाता

ललितपुर, वैशाख २१ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन संविधान र राजनीतिक उपलब्धिको रक्षाको कडीका रूपमा रहेको बताउनुभएको छ । खुमलटारस्थित निवासमा मङ्गलबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र मजबुत बनाउन, संविधानलाई परिस्कृत गर्दै हालसम्मका उपलब्धिको रक्षा गर्नेतर्फ निर्वाचनले लैजाने छ ।” 

अध्यक्ष प्रचण्डले समाजवादको आधारशिलाका रूपमा स्थानीय तहको निर्वाचनलाई लिनुपर्ने बताउनुभयो । संविधान र राजनीतिक उपलब्धिको रक्षा गर्ने शक्ति र उपलब्धिलाई उल्टाउने प्रतिगमनकारी शक्तिबीच निर्वाचनमा प्रतिस्पर्धा हुने उहाँको भनाइ छ । 

देश दुर्घटनामा जान लागेको बेला सत्ता गठबन्धन निर्माण भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “सहमति र गठबन्धनबाट रहेका उम्मेदवारको जित सुनिश्चित देख्छु, गठबन्धनको पक्षमा माहोल बनेको छ ।”

संविधान र निर्वाचन प्रणालीको आधारमा पनि गठबन्धनको आवश्यकता भएको अध्यक्ष प्रचण्डले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुने हो भने सबै एक्लाएक्लै लड्न सकिन्थ्यो तर अहिले त्यस्तो अवस्था छैन, निर्वाचन 

प्रणाली नै त्यस्तो छ ।”

गठबन्धनका कारण महिलाको प्रतिनिधित्व कम हुने सवालमा भने गठबन्धन गम्भीर रहेको उहाँले बताउनुभयो । उहाँले महिलाको प्रतिनिधित्वका सवालमा कानुनी रूपमै कमजोरी भएको भन्दै त्यसलाई सच्याएर महिला हुनैपर्ने बनाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले गठबन्धनका तर्फबाट सकेसम्म महिलालाई प्राथमिकता दिने सहमति भएको पनि दाबी गर्नुभयो । 

मतदातालाई परिवर्तन र संविधानको पक्षमा मतदान गर्न अनुरोध गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “बागी उम्मेदवारले गठबन्धनको निर्णयमा तात्त्विक  फरक पार्दैन ।”