• १२ साउन २०८१, शनिबार

मधेश अन्तर्सङ्घर्षको कथा

blog

विसं २०४६ पछिको नेपाली राजनीतिमा मधेश र मधेश आन्दोलनसँग गाँसिएर आउने नाम हो, राजेन्द्र महतो । काठमाडौँमा वर्णभेदको टिठलाग्दो मनोविज्ञान छ । क्षेत्रलाई हेर्ने केन्द्रको मिचाहा संरचना र स्वभाव छ । यिनै कारणले राजनीतिमा तानिएका महतोले जीवनका राजनीतिक उतारचढावका घटना, विचार समेटेर अधुरा क्रान्ति सार्वजनिक गर्नुभएको छ ।

विचार र अभिव्यक्तिका कारण बेलाबखत विवादमा तानिँदै आउनुभएका महतोको नागरिकतामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । मधेश आन्दोलनकै बखत एकै मोर्चामा रहेका उपेन्द्र यादवले सार्वजनिक रूपमै महतोको नागरिकतामाथि प्रश्न उठाउनुभएको थियो । यादवले ठाडै भन्नुभएको थियो, “महतो नेपाली नागरिक होइनन् ।” यस विषयलाई मुख्य रूपमा प्रस्ट पार्ने काम महतोले अधुरो क्रान्तिमा गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “मेरो नागरिकता रद्द गरिएको समाचार प्रकाशन भइरहँदा म व्यवस्थापिका संसद्मा जनताद्वारा प्रत्यक्ष चुनिएर आएको सांसद थिएँ ।” 

महतोले थप प्रस्ट पार्ने प्रयास गर्नुभएको छ, “नेपालको संविधान–२०१९ को व्यवस्था अनुसार संविधान लागु भएको बखत जन्मसिद्ध नागरिकता पाउने व्यवस्था थियो । त्यसैमा टेकेर २०१५ मङ्सिरमा जन्मिएको मैले नागरिकता ऐन, २०२० अनुसार जन्मका आधारमा नागरिकता प्राप्त गरेको हुँ । म कुनै पूर्वजको नाताले नेपालको नागरिक भएको हैन, त्यसैले यहाँ पूर्वजको चर्चा जरुरी रहेन ।” 

नेपाली नागरिकले आफ्नो प्रतिनिधिका रूपमा पटक पटक उहाँलाई संसद्मा पठाइसकेका छन् । जनताका पक्षमा महतोले के कति गर्नुभयो, राष्ट्रियताको पक्षमा कसरी योगदान गर्नुभयो, त्यस विषयमा जनताले मूल्याङ्कन गरेकै छन्, गर्ने विषय पनि हो । कानुनले दिएको सुविधा उपयोग गरी पटक पटक जनप्रतिनिधिसमेत भइसकेको सन्दर्भमा नागरिकताकै विषय गिजोल्नु भने त्यति मनासिब नहुन सक्छ । नेपाली नागरिक हुनुमा उहाँले गौरव महसुस गरेको पाइन्छ । आफू जन्मिएको नेपाली माटोप्रति उहाँको प्रेम पुस्तकको अन्त्यसम्म पनि देखिन्छ । 

महतो आध्यात्मिक मनका मान्छे हुनुुहुन्छ । राजनीतिमा आउनुअघि ओशो सन्न्यासी रहेका महतो पढाइको सिलसिलामा काठमाडौँ आएपछि राजनीतिप्रति आकर्षित बन्न पुग्नुभयो । तीन दशकदेखि उहाँले पहिचानको मुद्दा उठाइरहनुभएको छ । विसं २०४६ देखि हालसम्मको राजनीतिक गतिविधि र त्यसमा आफ्नो संलग्नतालाई उहाँले पुस्तकमा रोचक ढङ्गबाट प्रस्तुत गर्नुभएको छ । हामीले बुझिरहेको महतो र पुस्तक पढेपछिको महतोमा केही फरक पाउन सक्छौँ । महतोलाई बुझ्नै समस्या गरेछौँ कि भन्ने आभास पक्कै पनि हुन्छ । 

वेदानन्द झालगायतले नेपाली कांगे्रससँग विद्रोह गरी तराईमा राजनीतिक शक्ति विकासको अभ्यास गर्नुभएको थियो । गजेन्द्रनारायण सिंहदेखि महन्त ठाकुरसम्मले कांग्रेसमा विद्रोह गरी मधेशको अधिकारका लागि लड्नुभएकै हो । त्यही मेसोमा महतो मधेश आन्दोलनमा जोडिनुभएको थियो ।  अधुरा क्रान्तिमा महतो आत्मरतिमा मात्र रमाउन खोज्नुभएको छैन, उहाँ सामूहिक हुन खोज्नुभएको छ । उहाँ मुद्दाकेन्द्रित हुने प्रयासमा देखिनुहुन्छ । महतोको पुस्तकले मधेश र मधेशसँग जोडिएको नेपालको राजनीतिका धेरै तथ्यको उजागर गर्छ । 

राष्ट्रिय राजनीतिमा बलियो शक्तिका रूपमा उदाउँदै गरेको मधेश आफैँमा यति धेरै खण्डित शक्तिमा टुव्रिmनुका पछाडि मूल कारण आत्मरति नै हो । यो मधेशको मात्र समस्या होइन, पूरै नेपालकै चित्र हो । मधेशी नेताहरू आत्मरतिबाट माथि उठ्न सकेको भए मधेश आन्दोलनले निष्कर्ष पाउन समस्या हुने थिएन । जनताको मत मधेशी नेतालाई राज्यको विभिन्न पदमा पु-याउने हतियार मात्र बन्ने थिएन । जनताको अवस्था उस्तै रहने थिएन । त्यसकारण क्रान्ति पूरा भएको छैन भन्ने भाव पुस्तकले बोकेको छ । 

वेदानन्द झादेखि महन्थ ठाकुर, उपेन्द्र यादव र सिके राउतसम्मले मधेशमा एकै प्रकृतिका मुद्दालाई आफ्नो हतियार बनाउनुभएको छ तर कुनै पनि शक्ति एक ठाउँमा छैन । तितरबितर भएको शक्तिबाट मधेशी जनताले कहिलेसम्म न्यायको आस गरिरहने ? अब ती सबै शक्तिको एकीकरणमा विश्वास गर्नुको विकल्प नभएको कुरा महतोले पुुस्तकमा पटक पटक दोहो-याउनुभएको छ । 

विसं २०४६ पछिको नेपाली राजनीतिलाई नजिकबाट नियालेका महतोले राजनीतिक परिवर्तन र नेपथ्यका कथामा केही सङ्केत छाड्नुभएको छ । विभिन्न रहस्यमयी दुर्घटनादेखि माओवादी जनयुद्ध, २०६२/६३ को जनआन्दोलन, संविधान निर्माण र शृङ्खलाबद्ध मधेश आन्दोलनलगायतका अन्य महìवपूर्ण विषय पुस्तकमा उल्लेख गरिएको छ । 

संविधान निर्माणमा गम्भीर त्रुटि भएको उल्लेख गर्दै पुस्तकमा मधेश आन्दोलनभित्रको अन्तरसङ्घर्षको कथा समेटिएको   छ । आपसी तालमेल नमिल्दा अधिकार र पहिचानका लागि हिँडेका मधेशी जनतालाई बिच बाटोबाट फर्काउनु जीवनको ठुलो दुःखका रूपमा महतोले व्याख्या गर्नुभएको छ । राजनीतिक जीवनको समीक्षा र विश्लेषणमा केन्द्रित पुस्तकमा उहाँको आत्माभित्रको कथा छ, निजी विचार र गुनासा छन् । समाजप्रतिको चिन्ता छ । देशलाई भावनात्मक एकता गराउन आफूलाई सक्षम रूपमा उभ्याउनुभएको छ । ससाना विषयदेखि लामो समयसम्म सुल्झन नसकेका विषयवस्तुमा खुलेर आफ्नो कुरा उहाँले राख्नुभएको छ, ती पठनीय छन् ।  

राजनीतिक जीवनी भएर पनि होला, दस्ताबेजीकरणमा यो पुस्तकले बलियो उपस्थिति जनाउन सफल भएको छ । मधेशलाई नजिकबाट बुझ्न यो पुस्तक चाखलाग्दो छ । सतहमा देखिएको मधेशसँगै पहाड र देशले महसुस नगरेको मधेश पनि महतोले यस पुस्तकमा समावेश गर्नुभएको छ । मधेशी नेताको मधेश र मधेशी जनताप्रतिको व्यवहारमा गम्भीर समीक्षाको जरुरी रहेको कुरालाई उहाँले जोड दिनुभएको छ । एकअर्काको टाउकोमा दोष हाल्नुभन्दा सबैले आत्ममूल्याङ्कन गरी अगाडि बढ्नुपर्ने कुरा पुस्तकको सकारात्मक पक्ष हो । 

नेपाली जनताले भोगेको कष्ट क्षमातुल्य छैन । त्यसकारण नयाँ क्रान्तिको आवश्यकता रहेको कुरालाई महतोले दोहो-याउनुभएको छ । सबै नेतृत्वले नेपाली जनतासँग माफी माग्नुको विकल्प छैन भन्नेमा उहाँ प्रस्ट देखिनुहुन्छ । सङ्घीयताको जननी सद्भावना पार्टी रहेको दाबी गर्दै उहाँले आफ्नो पुस्तकमा सङ्घीयता देशका लागि फलिफाप नहुनुका कारणबारे गम्भीर समीक्षा प्रयास गर्नुभएको छ । यसलाई पनि पुस्तकको सकारात्मक पक्षका रूपमा लिन सकिन्छ । 

पुस्तकमा सूत्रधार आफैँ हुँदा नायकत्व आफैँले लिने परम्पराबाट महतो बाहिर आउन सक्नुभएको भए यो पुस्तक मधेशमाथि लेखिएको ऐतिहासिक पुस्तक बन्न सक्थ्यो होला । जे होस्, अधुरा क्रान्ति पुस्तकले समसामयिक नेपाली राजनीतिको चरित्रलाई देखाउन सफल भएको छ । विगतमा मधेश र मधेशीले अधिकार पहिचानका लागि गरेको सङ्घर्षलाई पुस्तकले सविस्तार समेटेको छ । मधेश र मधेशीलाई बुझाउन ‘अधुरा क्रान्ति : सङ्घर्ष मातृभूमिका लागि’ सफल छ । त्यसकारण मधेश अध्ययनका लागि किताब गतिलो सामग्री हो, यो निकै उपयोगी देखिन्छ ।