विदेह नगरी जनकपुरको पवित्र भूमिमा महर्षि याज्ञवल्क्य थिए । उनी प्रकाण्ड विद्वान् थिए । उनको विद्वता र तेजस्वी प्रभाव राजा जनकका सभाका सबै पण्डितजनभन्दा बढी थियो । त्यस राज सभाका गर्वोन्मत विदग्धहरू पनि उनको प्रश्नहरूको जवाफ दिन नसकेका कारण अनेकाँै पटक दण्डित पनि भएका थिए । याज्ञवल्क्यको स्मृतिको आदर वर्तमान अवस्थामा पनि हुने गर्दछ । मिथिलाका विद्वान्हरूको चर्चा हुँदा उनको नाम निकै सम्मान र श्रद्धापूर्वक लिने गरिन्छ । आफ्नो समयका अद्वितीय विद्वान् एवं ब्रह्मज्ञानी भएकै कारण परमज्ञानी मिथिला नरेश जनकका दीक्षा गुरु पनि भएका थिए ।
महर्षि याज्ञवल्क्यका दुई पत्नी थिए मैत्रेयी र कात्यायनी । दुवै परम विदुषी तथा पति सेवामा समर्पित थिए । महर्षिको सुखी जीवनमा उनीहरूको ठुलो भूमिका थियो । आश्रमका सबै आवश्यकता उनीहरूले नै पूरा गरिदिन्थे । महर्षि शास्त्र चिन्तनमा अहोरात्र लागिरहन्थे । छात्रहरूबाट बचेका समयलाई उनले ब्रह्मचिन्तन तथा शास्त्र चिन्तनमा लगाउने गर्दथे । यस कारण अन्य आचार्यको तुलनामा कम उमेरमा नै ठुलो विद्वान् र आचार्य बन्न पुगेका थिए ।
मैत्रेयी तथा कात्यायनी दुवै रूपवती र सदाचारिणी थिए । कात्यायनी पति सेवाका साथै आफ्ना यौवन एवं सौन्दर्यबारे पनि निकै जागरुक थिइन् । मैत्रेयी भने पतिसेवा, आश्रमको कामकाजका साथै महर्षिबाट ब्रह्मचिन्तनको ज्ञान पनि आर्जन गर्दथिन् । दुवै श्रीमतीप्रति महर्षिको समान भाव थियो र मैत्रेयीले उनलाई आफ्नो बहिनी झैँ माया–स्नेह गर्दथिन् । मैत्रेयी मित्र ऋषिकी सुपुत्री थिइन् । महर्षिको ध्यान सौन्दर्य एवं यौवनतिर आकर्षित नभई ब्रह्मचिन्तनमा लागिरहन्थ्यो तर त्यसबाट लाभ लिने काम मैत्रेयीले गर्दथिन् ।
स्वाभाविक एवं प्रकृतिप्रदत्त समय बित्दै गयो, युवापन पनि बित्दै गयो । महर्षि शिथिल हुँदै गए, उनमा प्रौढावस्थाको सम्पूर्ण लक्षण देखा पर्न थाल्यो । आँखाको ज्योति कम हुनुका साथै छात्रहरूलाई अहोरात्र पढाउने तथा टाढा टाढासम्म यज्ञ हवन आदिमा जान उत्साहमा कमी आउन थालेको थियो । शास्त्रीय वादविवाद एवं विजयको आकाङ्क्षा पनि अब रहेन । यसरी नै मैत्रेयीमा पनि सांसारिक एवं ऐच्छिक सुख प्राप्तिप्रति विरक्ति आउन थालेको थियो । शरीरप्रतिको चिन्ता समाप्त भइसकेको थियो । अहोरात्र ब्रह्मचिन्तनबाट बचेको समयमा पति सेवामा तल्लीन रहने गर्दथिन् । मैत्रेयी एक पटक मात्रै खाने गर्दथिन् र चार घण्टा मात्रै सुत्ने गर्दथिन् । केही समयपश्चात् एक दिन साँझपख नित्यकर्मबाट निवृत्त भई जलाशयबाट फर्कने बेलामा मैत्रेयीसित भेट हुँदा याज्ञवल्क्यले भने, अब गृहस्थीबाट मलाई विरक्ति भइसकेको छ, आश्रमको हेरचाह गर्ने उत्साह पनि रहेन । गृहस्थाश्रम छाडेर सन्न्यास ग्रहण गर्न चाहन्छु । यसमा तिम्रो के सुझाव छ ?
मैत्रेयी, महर्षिको मुख मुद्राबाट परिचित थिइन् । उनलाई पनि विरक्ति भइसकेको थियो र यसै कारण उनी बाटोमै उभिएकी थिइन् । महर्षिको कुराबाट अलिकति पनि विचलित नभई याज्ञवल्क्यको पछि पछि लाग्दै उनले भनिन्, देव ! गृहस्थ आश्रमबाट सन्न्यासग्रहणको कुरा त राम्रो नै हो तर देश विदेशबाट अध्ययन गर्न आएका छात्रहरूले भरिएको यस आश्रमलाई कसले चलाउने छ ? यी सबै त हजुरमाथि नै विश्वास गरेर आएका छन् ? यिनीहरूको भविष्य के होला ? हजुरको अनुपस्थितिमा आश्रम बन्द भएपछि देशलाई ठुलो क्षति हुने छ ? मैत्रेयीको चिन्तालाई निवारण गर्दै महर्षिले हारितको नाम बताए ।
आश्रममा पुगेर महर्षिले आफ्नो सम्पत्तिको विभाजनको कुरा मैत्रेयीसित गरे तर मैत्रेयी चुपचाप बसिरहिन् । उनलाई मनमनै के पनि लागेको थियो भने कुनै पनि व्यक्ति आफ्नो भौतिक सम्पत्तिको त्याग त्यतिबेला मात्रै गर्दछ जतिबेला उसलाई त्यसभन्दा कुनै ठुलो र महìवपूर्ण वस्तु प्राप्त हुने अवस्था आएको हुन्छ । महर्षिसँगको वार्तालापमा यदाकदा अमरत्वको कुरा पनि हुने गर्दथ्यो । सम्भवतः त्यसकै लागि महर्षि लालायित थिए । सांसारिक वैभवभन्दा उनी टाढा रहन चाहन्थे । इन्द्रादि पनि राक्षसहरूसित डराउँथे अतः उनलाई पनि यो प्राप्त भएको थिएन । अतः सांसारिक सुखभन्दा टाढा शान्ति र परम तìव प्राप्त भएपछि मात्रै यो प्राप्त हुन सक्दथ्यो । महर्षि यसको प्राप्तिका लागि सन्न्यास लिन चाहन्थे । मैत्रेयी मौन नै थिइन् । महर्षिले तिमी दुवैमा पछि गएर विवाद नहोस् त्यस कारण मैले यसको विभाजन गरेको हूँ, भन्दै सम्झाउने प्रयास गरे ।
अहिलेसम्म चुप्प लागेर महर्षिको कुरा सुन्दै आएकी मैत्रेयीले आफ्नो मौनता तोडिन् र भनिन् हजुरद्वारा समय समयमा गरिएका विमर्श एवं अभिव्यक्तिका कारण सन्न्यास लिने निर्णय भएको छ ? यदि सांसारिक वैभव, अमरत्व प्रदान गर्न सक्दैन भने यसबाट के लाभ ? आफ्नो पति सेवाभाव एवं अमरत्वको विचारबाट प्रभावित मैत्रेयी पनि महर्षिसँगै सन्न्यास लिने निधो गरिन् ।
मैत्रेयीको भावनाबाट प्रफुल्लित महर्षिले अमरत्वको उपदेश दिन तयार भए । मैत्रेयीको त्याग एवं निःस्वार्थ सेवाबाट महर्षिलाई परमानन्दको अनुभूति भयो । महर्षि याज्ञवल्क्यले मैत्रेयीलाई आत्माको अर्थ बताउँदै भन्न थाले, जो अज्ञानी आत्मालाई बुझ्न सकेका छैनन्, परलोक पनि मान्दैनन् र मृत्युपश्चात् आत्मा समाप्त हुन्छ भन्ने ठान्दछन्, यस्ता किसिमका मान्छे आत्मालाई नश्वर ठान्दछन्, ठिक यसको विपरीत आत्माको अर्थ आत्माका लागि हुनु पर्दछ । तात्पर्य यो कि जुन वस्तु वा सम्बन्धबाट आफ्नो आत्माको उन्नति हुन्छ, आत्माले आफ्नो वास्तविक स्वरूपलाई पहिचान गर्न सकोस्, त्यही नै यस संसारमा सर्वाधिक प्रिय हो । आत्माको रक्षाका लागि होस् वा आफ्नो उद्धारका लागि होस्, मानवलाई पृथ्वीको परित्याग गर्नु परे पृथ्वीलाई पनि छाडि दिनु पर्छ ।
संसारका सारा प्रेम वैभव सबै यसैमा छन् । आत्माको कामना एवं प्रयोजनका लागि सारा वस्तु प्रिय नै छन् । सम्भवतः यिनै कारणले होला सबैभन्दा बढी दर्शन गर्नयोग्य, श्रवण गर्नयोग्य, मनन गर्नयोग्य एवं निरन्तर ध्यान गर्नयोग्य यसलाई मानिएको हो । यसकै दर्शन, मनन, ध्यान, श्रवण, चिन्तन तथा साक्षात्कारबाट संसारका सबै थोक जान्न सकिन्छ । यसलाई नै सर्वश्रेष्ठ ज्ञान पनि भनिन्छ । यस नौलो जानकारीले मैत्रेयीलाई भित्रबाट तरङ्गित बनाउने काम ग¥यो । यसभन्दा अघिसम्म उनी ब्रह्मलाई आत्माभन्दा पृथक् ठान्दथिन् तर उनका साधनलाई सफल बनाउन आत्माभन्दा बाहिर ब्रह्मलाई होइन, आत्माभित्रको ब्रह्मलाई खोज्ने तथा साक्षात्कार गराउने कुरा भनिएको छ ।
आकाश, पाताल, पृथ्वी, पहाड, नदी, जीव आदि सबै चराचर आत्मा हुन् । जसरी भिजेको इन्धनमा आगो लगाउँदा त्यसबाट निस्केका धुवाँहरूबाट अनेकौँ धारा निस्किन्छ त्यसरी नै ऋग्वेद, यजुर्वेद तथा अन्य विधाहरू पनि यसैबाट निस्कन्छन् । आत्माको प्राप्तिबाट सबै कुरा पाउन सकिन्छ । सबैमा सर्वोत्तम भाव स्वतः नै जागृत हुन्छ । स्वयम्मा एकत्वको भावना उत्पन्न हुन्छ । संसारका सबै वस्तुमा आत्म स्वरूप हेर्न सकिन्छ । यस प्रकारका अनुभूति भएमा अरूलाई हेर्ने, सुँघ्ने, बोल्ने, सुन्ने, मनन गर्ने, स्पर्श गर्ने र जान्ने प्रश्न नै उठ्दैन ।
आत्माको वर्णन यस्तो होइन, यो होइन भनेर गरिन्छ । यसको परीक्षा कसैले गर्न सक्दैन । यो कहिल्यै पुरानो पनि हुँदैन, कहिल्यै कसैमा आशक्ति पनि हुँदैन, दुःखी पनि हुँदैन । आत्माको सम्बन्धमा ज्ञान प्राप्त गर्ने आवश्यकता नै हुँदैन । उपयुक्त विमर्शलाई कात्यायनीले अनावश्यक ठान्दथिन्, जबकि मैत्रेयी भने महर्षि याज्ञवल्क्यको चरणरज दर्शन गर्न चाहन्थिन् । सांसारिक भौतिक सम्पत्तिलाई परित्याग गरेर उनले महर्षिसँगै सन्न्यास लिन तयार भएकी थिइन् । महर्षि याज्ञवल्क्य र मैत्रेयीको त्याग, प्रेम र समर्पणलाई उच्च आदर एवं सम्मानका साथ स्मरण गर्ने गरिन्छ । प्राचीन मिथिला ज्ञान, विज्ञानका लागि विख्यात थियो । राजर्षि जनकको सभामा विद्वान्को उपस्थिति रहने गर्दथ्यो । विद्वान्बिच संवाद, विमर्श, खण्डन–मण्डन र तर्कका लागि मिथिला नरेशको दरबार प्रसिद्ध थियो । याज्ञवल्क्यकी मैत्रेयीको जति प्रशंसा गरे पनि अपूर्ण नै रहने छ ।