• १२ साउन २०८१, शनिबार

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

blog

काठमाडौँ, साउन १२ गते । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण  निरन्तर रूपमा हुन थालेको छ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नेपालमै पहिलो पटक २०७३ मङ्सिर २२ गते  कलेजो प्रत्यारोपण सफल भएको थियो । त्यसपछि उक्त केन्द्रमा कलेजो प्रत्यारोपणले निरन्तरता पाइरहेको छ । केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ कलेजो प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा  पहिलो पटक कलेजो प्रत्यारोपण सफल भएको थियो ।  दक्षिण कोरियास्थित सामसुङ मेडिकल सेन्टरबाट आएको कलेजो प्रत्यारोपण सर्जनको टोलीको सहयोगमा कलेजो प्रत्यारोपण सम्पन्न गरिएको थियो । 

केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठका अनुसार केन्द्रमा तीन वर्षीय बालकको समेत  कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । गत वर्ष उक्त केन्द्रमा तीन वर्षका बालकको जन्मजात पित्तको नलीको विकास नभएको अवस्थामा हेपाटो ब्लास्टोमा क्यान्सरका कारण कलेजो फेल भएकाले कलेजो प्रत्यारोपण गरिएको थियो  ।  

नाबाकलदेखि ६८ वर्षीय वृद्धसम्मको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको जानकारी दिँदै डा. श्रेष्ठले कलेजो प्रत्यारोपणको नाममा बिदेसिने रकमलाई नेपालमै जोगाएर राख्ने काम भएको  बताउनुभयो । कलेजो तथा मिर्गौला प्रत्यारोपणका लागि नेपालबाट वार्षिक पाँच अर्ब रुपियाँ बिदेसिने गरेको अनुमान रहेको छ । कार्यकारी निर्देशक डा. श्रेष्ठले दिनुभएको जानकारी अनुसार अब केही दिनभित्रै डेढ वर्षका नाबालकको पनि कलेजो प्रत्यारोपण गर्ने तयारी भएको छ । डा. श्रेष्ठले गत आर्थिक वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण सफल भएको जानकारी दिनुभयो । गत आर्थिक वर्षमा शतप्रतिशत कलेजो प्रत्यारोपण सफल भएको जानकारी दिँदै उहाँले पछिल्लो समय कलेजो प्रत्यारोपणले गति लिन थालेको बताउनुभयो । एक वर्षमा १५ जनाको  सफल प्रत्यारोपण हुनु ठुलो उपलब्धि हो, डा. श्रेष्ठले भन्नुभयो, “सरकारले पर्याप्त जनशक्ति र  भौतिक पूर्वाधारको विकास गर्ने हो भने यो सङ्ख्यालाई तीन गुणासम्म बढाउन सकिन्छ ।” हालसम्म उक्त केन्द्रमा २६ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । 

कति लाग्छ खर्च ?

डा. श्रेष्ठका अनुसार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गर्दा कुल खर्च १५ देखि २० लाखसम्म लाग्ने गर्छ । उहाँले विदेश गएर कलेजो प्रत्यारोपण गर्दा एकदेखि डेढ करोडसम्म खर्च हुने बताउनुभयो । केन्द्रले गत आव २०८०/८१ मा शतप्रतिशत सफलताका साथ १५ जनाको कलेजो प्रत्यारोपण गर्नुलाई ठुलो उपलब्धि मानेको छ । शतप्रतिशत कलेजो प्रत्यारोपण संसारका कुनै पनि प्रत्यारोपण केन्द्रमा हँुदैन, डा. श्रेष्ठले भन्नुभयो, “गत वर्ष कलेजो प्रत्यारोपित तथा कलेजोदाता सबै सकुशल घर गएका छन् ।” 

यसै गरी त्रिवि शिक्षण अस्पतालमा हालसम्म १५ जनाको सफल कलेजो प्रत्यारोपण भएको छ । अस्पतालका कलेजो रोग विभाग प्रमुख तथा वरिष्ठ कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीले दिनुभएको जानकारी अनुसार त्रिवि शिक्षण अस्पतालमा हालसम्म १५ जनाको कलेजो प्रत्यारोपण भएको छ । डा. भण्डारीले शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणका लागि कम्तीमा २५ देखि ३५ लाखसम्म खर्च लाग्ने गरेको जानकारी दिनुभयो । शिक्षण अस्पतालमा २०७६ सालदेखि कलेजो प्रत्यारोपण सुरु भएको हो । डा. भण्डारीले नेपालमा वार्षिक ६० जनाको मात्र कलेजो प्रत्यारोपण हुन सके कलेजो फेल भएका कुनै पनि बिरामीले विदेश गएर प्रत्यारोपण गराउनुपर्ने बाध्यता नहुने बताउनुभयो । नेपालमा प्रत्यारोपणको इतिहास धेरै लामो छैन । सन् २००८ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो  । पछिल्लो समय नेपालमा सरकारी तथा निजी अस्पतालबाट नियमित रूपमा मिर्गौला प्रत्यारोपण हुन थालेको छ । भक्तपुरस्थित प्रत्यारोपण केन्द्रबाटै वार्षिक एक हजार दुई सय जनाको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।