काठमाडौँ, साउन १६ गते । दृष्टिविहीन व्यक्तिले परिवारको साथ र अवसर पाए अरू नागरिकसरह आत्मसम्मानपूर्वक जीवन बाँच्न सक्षम हुन्छन् भन्ने एक उदाहरणीय व्यक्तित्व हुनुहुन्छ सुरेशचन्द्र न्यौपाने ।
जन्मँदै पूर्ण दृष्टिविहीन रहनुभएका सुरेशसँग बाल्य अवस्थामा सामाजिक अपहेलनासमेत सहनु परेको तीतो अनुभव छ । जन्मजात आँखाको ज्योति गुमाउनुभएका सुरेशको जिन्दगी अन्धकारयुक्त थियो नै । समाजमा हुने नकारात्मक टीका टिप्पणीले उहाँमा झनै निराशा छायो । यद्यपि, निराशापूर्ण अन्धकारबिच उहाँले जीवनलाई उज्यालो बाटोतर्फ लैजान सङ्घर्ष गर्नुभयो ।
उहाँ भन्नुहुन्छ, “मेरो घरमा, छरछिमेकमा दृष्टिविहीन, अपाङ्ग भनेपछि त्यतिबेला हेर्ने दृष्टिकोण अलिकति फरक नै थियो । अपाङ्ग भएपछि केही गर्न सक्दैन भन्ने सोच हुन्थ्यो । यो २०२८ सालतिरको कुरा हो, साथीभाइसँग खेल्न जाँदा अरूले बिगारेको दोष पनि यसलाई भन्दा सजिलो हुन्छ भनेर मेरो थाप्लोमा आउँथ्यो । त्यसैले गर्दा आमाको गाली पनि धेरै खाएँ ।”
समाजमा छोराको यो अवस्था देखेर चिन्तित उहाँको बुवा शिवप्रसाद न्यौपानेले २०३७ सालमा काठमाडौँको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा उहाँलाई भर्ना गर्नुभयो ।
उहाँले २०४९ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । २०५२ सालदेखि काठमाडौँस्थित कोटेश्वर सरस्वती माध्यमिक विद्यालयमा पढाउन सुरु गर्नुभयो । शिक्षण पेसामा रहँदै ललितपुरस्थित नमुना मच्छिन्द्र क्याम्पसबाट स्नातक तहको अध्ययन पूरा गर्नुभयो ।
दृष्टिविहीनका लागि पाठ्यपुस्तक माग
करिब तीन दशक विद्यालयमा अध्यापन गर्नुभएका उहाँलाई लाग्छ कि, दृष्टिविहीनको पठनपाठनका लागि सहज किसिमको पाठ्यक्रम आवश्यक छ । उहाँले त्यस्ता पाठ्यपुस्तकहरू ब्रेल लिपिमा प्रकाशन गर्नुपर्ने, चित्रसहित ठुलो फन्टमा छाप्नुपर्ने तथा दृष्टिविहीनलाई सहज पहुँच हुनेगरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “दृष्टिविहीनलाई पठनपाठनमा आवश्यक पर्ने पाठ्यपुस्तकहरू ठुलो फन्टमा छाप्ने । जस्तो कि, कुनै उपन्यास पढ्न पर्यो भने यो ब्रेल लिपिमा निकालेर पढ्न पाउने व्यवस्था हुनपर्यो । किनभने, सानो फन्टमा उनीहरूले पढ्न सक्दैनन् ।”
यस विषयलाई सम्बोधन गर्न सन् २०१३ मा प्रतिलिपि अधिकार अन्तर्गत नेपाल यसको पक्ष राष्ट्र भएको उहाँले उल्लेख गर्नुभयो । तर, यसको कार्यान्वयनका प्रक्रिया अगाडि बढ्न नसकेको उहाँको भनाइ छ ।
नेपाल नेत्रहीन सङ्घको अध्यक्षसमेत रहनुभएका उहाँले त्यसखाले चित्रसहितको पुस्तक दृष्टिविहीन र मनोसामाजिक भएका विद्यार्थीलाई पनि अध्ययन गर्न सहज हुने किसिमको हुनुपर्ने बताउनुभयो ।
पहिले उहाँलाई अँध्यारो र उज्यालो रङ कस्तो हुन्छ होला भनेर अन्दाज थिएन । आँखाको नौ पटकको शल्यक्रिया पश्चात् अचेल उहाँ न्यून दृष्टियुक्त हुनुभएको छ । शिक्षा हासिल गर्न नपाएका तथा पहुँचविहीन दृष्टिविहीनले आफ्नो क्षमता प्रदर्शन गरेर जीविकोपार्जन गर्न पाउनुपर्ने माग राख्नुभयो ।
उहाँले भन्नुभयो, “नेत्रहीन सङ्घले सङ्गीत कक्षा पनि चलाएका थियौँ । कतिपय साथीहरू सङ्गीत सिकेर, आफ्नो कला, देखाएर जीविकोपार्जन गर्नुहुन्छ । यसलाई मागेर खाएको भनेर बुझ्न भएन । जसले पढेका छैनन्, उनीहरूले क्षमता देखाएर खान सक्ने वातावरण राज्यले बनाउनुपर्यो ।” या त, उनीहरूले उत्पादन गरेका सामग्रीहरू जस्तै चाउमिन, साबुन, फिनेललगायतका उत्पादनको बजार सुनिश्चितता गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँका अनुसार देशभर न्यून एवम् पूर्ण गरी पाँच लाखको हाराहारीमा दृष्टिविहीनको सङ्ख्या रहेको छ । नेत्रहीन सङ्घको ५८ जिल्लामा शाखा विस्तार भएको तथा धादिङ, गोरखा र तनहुँमा ‘आइ केयर’ अन्तर्गत उपचार पनि आँखा देख्न सक्ने सम्भावना भएका बालबालिकाको लागि काम गर्दै पनि उहाँको भनाइ छ ।
कतिपय परिवारले दृष्टिविहीनलाई घर बाहिर ल्याउनै हिच्किचाउने गरेको पाइएको, बन्द एवम् साँघुरो ठाउँमा खाना खुवाउनेदेखि दिशा पिसाब एकै ठाउँमा गराउने गरेको पाइएकोले नेत्रहीन सङ्घले यस्ता दृष्टिविहीनहरू खोज्ने गरेको पनि छ ।
उहाँले पढ्न चाहने तथा पढ्ने उमेर ढल्किसकेको दृष्टिविहीन व्यक्तिले सीप सिकेर आत्मनिर्भर जीवन बाँच्न सक्ने भन्नुहुँदै नेत्रहीन सङ्घको सम्पर्कमा आउनसमेत आव्हान गर्नुभयो ।
नेपाल नेत्रहीन सङ्घका अध्यक्ष एवम् शिक्षक सुरेशचन्द्र न्यौपानेसँग सपना थामी, मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो संवाद :