• १२ साउन २०८१, शनिबार

नेपालगन्ज नाकाबाट ७५ करोड बढीको जडीबुटी निकासी

blog

नेपालगन्ज नाकामा निर्यात आयातका लागि निर्माण गरिएको आईसीपी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन १० गते । नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/०८१ मा ७५ करोड भन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घले विभिन्न प्रकारका समस्या र अवरोधका बाबजुद पनि गत आर्थिक वर्षमा ७५ यो नाकाबाट करोडको जडीबुटी निकासी भएको हो।

नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क प्रसाद शर्माले निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट विभिन्न प्रकारका समस्या र चुनौतीहरू रहेपनि पश्चिम नेपालका व्यवसायीले एक वर्षमा ७५ करोड ४६ लाख ५० हजार रुपियाँको जडीबुटी निकासी गर्न सफल भएको बताउनुभयो । उहाँले गत केही वर्षयता नेपाली जडीबुटीप्रति भारतको कडा रवैया र नेपाल सरकारकै अस्पष्ट नीतिका कारण जडीबुटी निकासीमा समस्या हुँदै आएपनि व्यवसायीले उत्साहजनक रूपमा जडीबुटी निकासी गरेको बताउनुभयो । 

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा नेपालगन्ज नाकाबाट ७५ करोड ४६ लाख ५० हजार मूल्य बराबरको २६ लाख ६७ हजार ५३ किलोग्राम विभिन्न जडीबुटी निकासी भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा यो नाकाबाट ८२ करोड ८० लाख २४ हजार मूल्यको जडीबुटी निकासी भएकोमा गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा सात करोडको जडीबुटी कम निकासी भएको भन्सार कार्यालयले जनाएको छ । 

पछिल्लो समयमा जडीबुटी निकासीमा केही सहजता आएकोले चालु आर्थिक वर्ष २०८१-८२ मा यो नाकाबाट एक अर्बको जडीबुटी निकासी हुने अनुमान गरिएको जडीबुटी व्यवसायी सङ्घले जनाएको छ । 

नेपालगन्ज कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामा उत्पादन भएका जडीबुटीको भण्डारण र विदेश निर्यातका लागि प्रमुख ट्रान्जिट हो । यहाँ हुँदै भारत लगायत विभिन्न देशमा जडीबुटी निकासी हुँदै आएको छ । 

नेपाल जडीबुटी व्यवसायी सङ्घका अनुसार यो नाकाबाट टिम्मुर, रिट्ठा र काउलो सबैभन्दा बढी निकासी भइरहेको छ । औषधी, साबुन, स्याम्पु जस्ता सामाग्री बनाउन प्रयोग गरिने यी जडीबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेस्रो मूलकमा पनि निर्यात भइरहेको सङ्घले जनाएको छ ।

कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिट्ठा त्यहाँबाट खरिद गरी व्यवसायीहरूले विदेश निकासी गर्दै आएका छन् ।