अर्जुन कार्की
काठेखोला (बागलुङ), जेठ ८ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ।
माओवादी केन्द्रले संचालन गरेको ‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत बिहीबार बागलुङको गलकोटमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले दश वर्षमा संविधानको समीक्षा गर्नुपर्ने समय आएको बताउनुभयो।
‘‘दश वर्षमा संविधानको समीक्षा गर्नुपर्छ। अब समीक्षा गर्नुपर्ने बेला आएको छ,’’ उहाँले भन्नुभयो, ‘‘जनताको अधिकार थप्ने गरी संविधान संशोधन गर्नुपर्छ। अहिले त्यसको समय आएको छ।’’
पूर्व प्रधानमन्त्री प्रचण्डले पहाडी र हिमाली क्षेत्रको जडिबुटीबाट आम्दानी बढाउन सकिने बताउनुभएको छ। उहाँले आत्मनिर्भर देश बनाउन बाँझो जग्गालाई प्रयोगमा ल्याउन जरुरी रहेको बताउनुभयो।
गणतन्त्र आएपछि केही भएन भनेर भ्रम फैलाएको र जनतालाई साँचो भन्नुपर्ने अवस्था भएको प्रचण्डको भनाइ छ। उहाँले गणतन्त्रपछि भौतिक पूर्वाधारको क्षेत्रमा गाउँ गाउँमा सडक सञ्जाल पुग्नुका साथै स्वास्थ्यमा समेत सकरात्मक परिवर्तन भएको बताउनुभयो। उहाँले लोकतन्त्रको विकल्प अझ बलियो लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्रको विकल्प नभएको बताउनुभयो।
प्रचण्डले सरकारले सबै जनयुद्धका सहिद र बेपत्तालाई राष्ट्रिय सहिद घोषणा गरिएको बताउँदै विधेयक र आयोग बनाएर काम सुरु गरिसकेको बताउनुभयो। उहाँले आयोगले कानुन अनुसार सहिद बेपत्ता परिवारलाई सम्मान, परिचयपत्र, आर्थिक परिपुरण दिने, रोजगारी दिनैपर्ने बताउनुभयो।