राममणि दाहाल
मकवानपुर, जेठ ८ गते। नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले प्रहरीप्रति नागरिकमा भरोसा जगाउने गरी काम गर्न आग्रह गर्नुभएको छ। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाको बिहीबार भएको अनुगमन, निरीक्षण तथा निर्देशन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो।
उहाँले आम नागरिकको प्रहरीप्रतिको विश्वास र भरोसालाई आत्मसाथ गर्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी जनमुखी प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिँदै प्रहरी कर्मचारीलाई पूर्ण व्यावसायिक एवं कर्तव्यनिष्ठ प्रहरी कर्मचारीले मात्रै प्रहरी संगठनको गरिमा बढाउन सक्ने भएकोले हरेक प्रहरी कर्मचारीले असल आचरणको पालना गर्दै समय सापेक्ष कार्यक्षमता अभिवृद्धि गरी आफ्नो तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगबाट वहन गर्न जोड दिनुभयो।
संगठनको सुदृढीकरण र शुद्धिकरणमा आफूले जोड दिइरहेको बताउँदै महानिरीक्षक थापाले भन्नुभयो, प्रहरी संगठन राज्यको कानुन कार्यान्वयन गर्ने प्रमुख निकाय भएकाले हरेक प्रहरी कर्मचारी कानुनको पूर्ण अधिनमा रही कार्य सम्पादन गर्नुस्।
सो अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रमुख, प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले प्रदेश प्रहरी कार्यालयका गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो।