• ९ जेठ २०८२, शुक्रबार

अब्बल बन्दै प्रकाश माध्यमिक विद्यालय

blog

बेनीको प्रकाश माध्यमिक विद्यालय । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ ९ गते ।
सदरमुकाम बेनी आसपासका केही सरकारी स्कुलको शैक्षिक अवस्था उत्साहप्रद छैन । बेनी नगरपालिकाले हालै लिएको कक्षा ८ को नगर स्तरीय परीक्षाको नतिजालाई हेर्दा नगरका केही सरकारी स्कुलको अवस्था नाजुक छ ।

बेनी आसपासका सामुदायिक विद्यालयहरु सङ्कटमा परेका बेला  प्रकाश माध्यमिक विद्यालयले भने समाजमा आशा जगाउन थालेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, विद्यालय प्रशासन र अभिभावकको इच्छाशक्ति भए सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्दो रहेछ भन्ने गतिलो उदाहरण प्रकाश माविले प्रस्तुत गरेको छ ।

विद्यार्थी सङ्ख्या पनि निरन्तर ओरोला लागेको छ । तर बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले आफ्नो साखलाई जोगाउँदै शैक्षिक क्षेत्रमा अब्बल सावित गरेको छ । पछिल्ला तीनवर्ष यता शैक्षिक गुणस्तरमा वृद्धि गरेसँगै अभिभावको रोजाईमा स्कुल पर्नथालेको हो ।

प्रकाश माध्यमिक विद्यालय पछिल्लो समय शैक्षिक उत्कृष्टताको नमुना केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिको प्रयोग र सुदृढ व्यवस्थापनका कारण विद्यालयले स्थानीय तहमा मात्र नभई जिल्ला स्तरमै पहिचान बनाउन सफल भएको छ । विद्यालयको शैक्षिक उपलब्धिका कारण विद्यालयप्रति अभिभावकको आकर्षण बढेको छ ।

अहिले प्रकाश माविमा निजी विद्यालयबाट विद्यार्थीहरु भर्ना हुन आउन थालेका छन् । सरकारी स्कुलको गरिमा उँचो बनाएको प्रकाश माविमा आफ्ना बालबालिका भर्ना गर्न अभिभावकहरु आकर्षित छन् ।  

विद्यालयमा सुविधासम्पन्न बालविकास कक्षादेखि १२ सम्मको पठनपाठन हुँदै आएको छ । विद्यालयले कक्षा ११ र १२ मा विज्ञान विषय, मानविकी, व्यवस्थापन र शिक्षाशास्त्रमा अध्यापन गर्दै आएको छ । विद्यालयमा हाल करिब एक हजार विद्यार्थीहरु अध्ययनरत छन् । भने ३९ जनाभन्दा बढी दक्ष र अनुभवी शिक्षक तथा कर्मचारीहरु छन् । शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र विद्यालयको प्रशासनिक नेतृत्वको टिम स्प्रिड मिलेका कारण विद्यालयले शैक्षिक उपलब्धि हासिल गर्दै आएको हो । 

विद्यालयले डिजिटल कक्षा, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, पुस्तकालयलगायतका पूर्वाधारको विकासले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा नयाँ ऊर्जा थपेको सहायक प्रधानाध्यापक विनय श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘पछिल्ला तीनवर्ष यता विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिका कारण अभिभावको रोजाईको विद्यालय भएको छ । वर्षेनी निजी विद्यालय छाडेर यहाँ भर्ना हुनआउने सङ्ख्यामा वृद्धि भएको छ । विद्यालय व्यवस्थापन, शिक्षक, कर्मचारी र अभिभावको मेहनतका कारण अहिलेको उपलब्धि हासिल गर्न सफल भएका हौं ।’’

विद्यालयको पूर्वाधार विकास, जनशक्ति विकास, आर्थिक विकास र शैक्षिक विकास गरेर स्मार्ट स्कुलका रुपमा विकास गर्ने लक्षयसहित अघि बढेको विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमाल बताउनुहुन्छ ।

प्रअ हमालले भन्नुभयो, “हामी गुणस्तरीय र व्यवहारिक शिक्षामार्फत विद्यार्थीलाई प्रतिस्पर्धी बनाउने लक्षयसहित अगाडि बढिरहेका छौं । अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यले नै विद्यालयलाई यो उचाइमा पु¥याएको हो ।” सामुदायिक विद्यालय पनि अभिभावकको रोजाईमा पर्न सक्छ भन्ने उदाहरण प्रकाश माविले दिन सक्ने वातावरण तयार भएको उहाँको दावी छ ।

विद्यालयको आर्थिक विकास, व्यवस्थापन, विद्यालयको जग्गा व्यवस्थापन, शैक्षिक उपलब्धि,तथा अतिरिक्त क्रियाकलाप उपलब्धिको निरन्तरता, सामाजिक सम्बन्धको व्यवस्थापन जस्ता क्रियाकलापहरु चुनौतीका रुपमा रहेको उहाँले बताउनुभयो ।

शैक्षिक मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि प्रकाश माविको उपस्थिति उल्लेखनीय छ । खेलकुद, सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, बहस प्रतियोगिता लगायतका गतिविधिहरूमा विद्यालयले नियमित सहभागिता जनाउँदै आएको छ र आफूलाई अब्बल सावित गरेको छ ।

विद्यालयलाई जिल्लाकै शैक्षिक केन्द्रका रुपमा अगाडी बढाउन बजारवासीको पनि साथ र सहयोग मिलेको छ । विद्यालयको लोभलाग्दो प्रगति देखेर नै आगामी दिनमा अझै उत्कृष्ट बनाउन विद्यालयले समाजका प्रतिष्ठित व्यक्तित्वको नेतृत्व पाएको छ ।

पछिल्लो समय शिक्षक सेवा आयोगबाट स्थायी नियुक्ति लिएका नयाँ शिक्षक,छरितो बन्दै गएको प्रशासन, अङ्ग्रेजी माध्यमको पढाई र खेलकुद लगायतका क्षेत्रमा प्राप्त  सफलताहरुले स्कूललाई पुरानो गौरबको पुनर्जीवित भएको सन्देश दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तरमा थप वृद्धि गर्दै अभिभावकको विश्वास जितेर जिल्लामै नमूना विद्यालयको रुपमा अगाडी बढाउने कार्ययोजना बनाएर व्यवस्थापन समितिले काम गरिरहेको छ । कुशल विद्यालय प्रशासक,उच्च योग्यता भएका शिक्षकहरु र कर्मचारीहरुका कारण विद्यालयले शैक्षिक उपलब्धि हासिल गर्न सफल भएको छ ।’’

सही व्यवस्थापन र वैज्ञानिक शिक्षण विधि भयो भने सामुदायिक विद्यालय पनि अब्बल बन्न सक्छ भन्ने उदाहरण प्रकाश माविले दिएको शिक्षक अभिभावक संघका अध्यक्ष लिलाराम गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रकाश माविले आफ्ना छोरछोरीलाई बोर्डिङ नै पढाउनुपर्दछ भन्ने अभिभावकको मनोविज्ञानलाई फेरिदिएको छ । कुशल व्यवस्थापन,प्रतिबद्ध शिक्षक र शैक्षिक वातावरण भएमा सरकारी स्कुल पनि अब्बल हुन्छन् भन्ने नमूना प्रकाश माविले दिएको छ ।’’

विद्यालयमा बजारका प्रतिष्ठित व्यापारी, शिक्षक, कर्मचारीका छोराछोरीहरु समेत भर्ना हुन आउने गरेको विद्यालयका प्रअ हमालले बताउनुभयो । नयाँ शैक्षिक सत्र सुरु भएदेखि हाल सम्म विभिन्न कक्षाहरुमा गरेर एक सय २० जनाभन्दा बढी नयाँ विद्यार्थीहरु भर्ना भइसकेको र यो सङ्ख्या अझै बढ्ने उहाँले बताउनुभयो ।

शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि विद्यालयले नयाँ शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि शिक्षक तालिम, शैक्षिक सामग्री निर्माण तालिम लगायतका क्रियाकलापलाई प्राथमिकता दिएको प्रअ हमालले बताउनुभयो ।

हरेक आन्तरिक परीक्षापछि कमजोर विद्यार्थीको सिकाई उपलब्धि वृद्धिका लागि अभिभावकसँग विद्यालयले अन्तरक्रिया गर्ने गरेको छ । अभिभावकसँग निरन्तर रुपमा जोडिनका लागि अभिभावक टोल समिति समेत गठन गरिएको छ । 

विद्यालयले लिने आन्तरिक परीक्षाबाट कमजोर विद्यार्थीको पहिचान गरेर अतिरिक्त कक्षा सञ्चालन गर्ने गरिएको प्रअ हमालले बताउनुभयो । विद्यालयमा थप पूर्वाधार निर्माणको आवश्यकता रहेको उहाँको भनाइ छ ।