• ९ पुस २०८१, मङ्गलबार

हैजाको जोखिम

blog

चिकित्सकीय पद्धतिको विकास नहुँदासम्म अतिसार अर्थात् हैजा भएका बिरामीलाई पानी खान दिइँदैनथ्यो । जलविनियोजनका कारण प्राण त्याग गरेका घटना बुढापाकाले सुनाउने गरेका छन् । अतिसार भएर इतिहासमा राजा महाराजाको समेत निधन भएको छ । काठमाडौँ, इन्द्रचोकका परोपकारी लखपति व्यापारी हनुमानप्रसाद मारवाडीको ३८ वर्षको उमेरमा अतिसारले निधन भएको स्मृति विज्ञापन गोरखापत्रमा बर्सेनि प्रकाशित हुँदै आएको देखिन्छ ।

चिकित्सा विज्ञानले निषेध गरिसकेको अवस्थामा पनि विश्वमा एक लाखभन्दा बढीको हैजाबाट मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुचएओ) को प्रतिवेदनमा उल्लेख छ । हामीकहाँ पनि बेला बेलामा हैजा फैलिएर ठुलो सङ्ख्यामा मृत्यु हुने गरेका घटना सार्वजनिक हुने गरेका छन् । गोदावरी नगरपालिका–१४, ठैबमा रहेको एक पुनर्थापना केन्द्रका केही मानिसमा हैजा पुष्टि भएपछि सावधानी अपनाइएको छ । ललितपुरस्थित जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरेर बेलैमा हैजा नियन्त्रण प्रयास गरेकोलाई प्रशंसनीय कार्य मानिएको छ । 

झाडापखाला लागेका केहीको आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण गराइएको हो । त्यसै केन्द्रका अन्य केहीमा पनि हैजासँगै मिल्दोजुल्दो लक्षण देखिएपछि थप उपचारका लागि टेकुस्थित शुव्रmराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको छ । हैजाको लक्षण देखिएर उपचारका लागि अस्पताल भर्ना गरिएका सोही केन्द्रका दुई जना बिरामी भागेको समाचारले भने आशङ्का जन्माएको छ ।

केही वर्षअघि जाजरकोट र कपिलवस्तु जिल्लामा फैलिएको हैजा नियन्त्रण गर्न निकै हम्मे परेको थियो । नियन्त्रणका लागि खोपकै प्रयोग गर्नु परेको स्मरणीय छ । यद्यपि हैजाविरुद्धको खोपको प्रभावकारिता ७० प्रतिशत मात्रै हुने भएकाले खोपसँगै सरसफाइमा ध्यान दिनु आवश्यक रहेको स्वास्थ्यकर्मीको सुझाव छ । सफा पानी पिउने, शौचालयको प्रयोग, हात धुने जस्ता कार्यमा सचेत नभएसम्म हैजाको प्रकोप फैलिन सक्ने डर सधैँ रहन्छ । बाहिरी जिल्लाका कतिपयमा हैजाको महामारी देखिने गरेकोमा काठमाडौँ उपत्यका झनै जोखिममा रहेको भन्दै जनस्वास्थ्यविज्ञले सचेत गराउँदै आएका छन् । 

सरुवा रोग विशेषज्ञ चिकित्सकका अनुसार हैजा ‘भिब्रियो कोरेला’ नामक ब्याक्टेरियाका कारण लाग्ने अति सङ्व्रmामक झाडापखाला हो । हैजा बनाउने ब्याक्टेरिया शरीरभित्र प्रवेश गरेर झाडापखाला लाग्न थालेपछि जलवियोजन भएर बेलैमा उपचार नपाउँदा बिरामीको मृत्युसमेत हुने गर्छ । हैजा भएका मानिसको दिसामा निस्किने कीटाणु पानी र खानाको माध्यमबाट दोस्रो व्यक्तिमा सर्ने गर्छ । सो ब्याक्टेरियाले सानो आन्द्रालाई सङ्व्रmमित बनाउँदा झाडापखाला लाग्ने छ । खास गरी हैजा दूषित पानी, बासी तथा सडेगलेका खानेकुरा, काँचा खानेकुरा एवं सङ्व्रmमित व्यक्तिले चलाएका सरसामानको माध्यमबाट सर्छ ।

झाडापखाला निरन्तर लाग्ने हुँदा शरीरमा पानीको मात्रा घटेर केही घण्टाभित्रै ज्यान जाने जोखिम हुन्छ । जलवियोजनका कारण तौल घट्ने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला निलो हुने जस्ता लक्षण एकसाथ देखिन्छन् । हैजा लाग्न नदिन सधैँ पानी उमालेर वा निर्मलीकरण गरेर मात्रै पिउन अत्यावश्यक छ । 

जीवनका लागि नभई नहुने पानी दूषित हुँदा पेटजन्य रोग ज्यादा हुने गरेका छन् । केही दिनयता झाडापखालाका बिरामीको अस्पतालमा चाप बढेको पाइएको छ । मुलुकको संविधानले स्वच्छ खानेपानी तथा सरसफाइलाई मौलिक हकका रूपमा स्थापित त गरेको छ तर अहिलेसम्मको अवस्थालाई हेर्दा स्वच्छता त परको कुरा भयो, पानी मात्रै पाए पनि उपभोक्ता हर्षित हुने अवस्थामा छन् । खानेपानी तथा सरसफाइ ऐन, २०७९ ले स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गरी स्वच्छ तथा गुणस्तरीय खानेपानी र सरसफाइ सेवा सहज रूपमा उपलब्ध गराउने कानुनी व्यवस्था गरेको विदित हुन्छ ।

व्यावहारिक रूपमा भने खानेपानी मन्त्रालयकै तथ्याङ्कमा कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेकोे छ । हैजालगायत रोग नियन्त्रण गर्न व्यक्तिगत स्वास्थ्य सचेतना पनि अपरिहार्य छ भने तीन तहकै सरकारसमेत गम्भीर हुनै पर्छ । मुलुकका केही निश्चित क्षेत्रलाई हैजाको जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको छ । एक पटक हैजा देखिएको क्षेत्रमा १५÷२० वर्षपछि पुनः हैजा देखिने गरेको जनस्वास्थ्यविद्हरू बताउँछन् । हैजाका ८० प्रतिशत बिरामीको त जीवनजलबाटै उपचार हुने गरेको देखिएको छ । गम्भीर खालको हैजामा मात्र थप उपचारको आवश्यकता पर्छ । मुलुकलाई खुला दिसामुक्त घोषणा गरिए पनि चर्पीको प्रभावकारी प्रयोग नहुनु हैजाको जोखिम ज्यादा रहनु हो ।