• १३ साउन २०८१, आइतबार

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यको दाबी पेस

blog

एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुहुँदै । तस्बिर : छविलाल पाण्डे


छविलाल पाण्डे
बुटवल, साउन ७ गते । 
नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ जना सांसदको हस्ताक्षरसहित सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरिएको हो ।

लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व पहिले एमालेले गर्ने सहमति भएपछि सोमबार एमालेका उपनेता आचार्यले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।

त्यसअघि मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश सभामा सम्बोधन गर्नुहुँदै  राजीनामा दिएसँगै मुख्यमन्त्रीको पद रिक्त भएको थियो ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आज साँझ ६ बजे सम्मको समय सीमा दिएर दलहरूलाई आह्वान गर्नुभएको थियो ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठुलो दलको रूपमा रहेको एमालेसँग २९ जना सांसद छन् भने कांग्रेसका २७ जना सांसद छन् । 

लुम्बिनी प्रदेशमा सरकार गठन गर्न ४४ जना सांसदको समर्थन आवश्यक पर्छ ।