भनिन्छ, साहित्य समाजको ऐना हो । समकालीन समाजमा भइरहेको यावत् चर्यालाई सिर्जनाले फुलाउँछ, फलाउँछ तर साहित्य त्यति मात्र होइन रहेछ । साहित्यमा प्राच्यदेखि सुदूर भविष्यका सम्भावनालाई रेखाङ्कन गर्न सक्ने शक्ति पनि रहेछ । साहित्यका अनेक विधाले विज्ञान र प्रविधिका अन्वेषणलाई मानव समाजको हितनिम्ति गहन विमर्श र विवेचनामा डुबाउँदो रहेछ । राजकीय विकृति र विसङ्गतिलाई नाङ्गेझार बनाएर सही कर्मको दुधपानी छुट्याउने यत्न गर्ने रहेछ । साहित्यकार तथा वरिष्ठ पत्रकार कपिल काफ्लेको हालै सार्वजनिक उपन्यास ‘पुंसवन’ सायद उत्तरआधुनिक साहित्य चिनाउने यस्तै कडी बन्न सक्छ । सूचना प्रविधिका तमाम व्यावहारिक प्रयोगद्वारा आधुनिक जीवन विज्ञानको अन्वेषणलाई पूर्वीय ज्ञान, संस्कार, सभ्यता र दर्शनको भावभूमिमा घोट्दै लैङ्गिक समानताको शिल्पीमा फरक आयाम दिएको नयाँ कृति भन्न सकिन्छ, ‘पुंसवन’ ।
उपन्यासको कथावस्तु पोखराको कलेजमा स्नातक अध्ययनरत माया पात्रबाट उद्भव हुन्छ । प्राकृतिक सुन्दर नगरी पोखरा जस्तै किशोर वय पार गरेकी युवती मायाको सुन्दरता बेजोड छ । उनको सुन्दरतामा साथीहरू जल्छन् तर मायालाई त्यो शारीरिक बाह्य सुन्दरताको कुनै मोह छैन । मेधावी छात्रा उनी पूर्वीय ज्ञान, संस्कार र दर्शनमा भिज्दै आधुनिक ज्ञानसँग आफूलाई समाहित गर्छिन् । समयव्रmमले मायाको दाम्पत्य जीवन काठमाडौँको काँठ दहचोकको थापा परिवारसँग गाँसिन्छ । पति मुनराज गैरसरकारी कार्यालयमा काम गर्छन् । काँठ क्षेत्र विकृतिले भरिपूर्ण छ । उपन्यासकी नायिका माया मात्र होइन, सबै महिलालाई वस्तु सरह व्यवहार गरिन्छ त्यस बस्तीमा । पुरुषप्रधान समाजको विकृत चित्रणमा मुनराज–मायासँगै पराशर–मीना र जयद्रथ–शोभाका तीन थापा परिवारका भिन्न चरित्रमा उपन्यासका तमाम विषयवस्तुले चक्कर काट्छन् ।
‘पुंसवन’ हिन्दु विधिशास्त्रका १६ संस्कारमध्येमै एकमा केन्द्रित छ । गर्भधान गरेपछिको तेस्रो महिनामा वैदिक विधिले भ्रूणलाई चाहे अनुरूप भ्रूणलिङ्ग विकसित गर्न सकिने संस्कार ‘पुंसवन’ हो भन्ने पूर्वीय शास्त्रीय मान्यतामा आधारित रहेको लेखकीय दाबी छ । कौशिकी नदीको चतराधामनजिकै अत्याधुनिक ‘पुंसवन’ आश्रमको कल्पनातीत सिर्जना उपन्यासको अनुपम भुलभुलैया हो । चतराधामनजिकैको ‘पुंसवन’ आश्रमको शाखा दहचोकमा खुल्ने कल्पनासँगै कथावस्तुको बिट मार्नु संयोग होइन, कथावस्तुका अनेक वक्रिय आयामसमेत हुन् । त्यसबिचमा मायादेखि मायासम्मका कथावस्तुले उत्तरआधुनिक साहित्यको संसारमा अब्बल कावा खाएका छन् ।
हुन पनि पुरुषप्रधान समाजको कुरूप विम्ब छ दहचोकको थापा परिवारमा । मनुराजसँगै जयद्रथ र पराशर कुरूप सारथि । ती थापाकाजीका पत्नीहरू व्रmमशः शोभा र मीना उपन्यासका उपनायिका नै हुन्, आरम्भमा आँसु पिएरै बाँचेका छन् । यसै परिवेशले काँठका विकृत कुप्रवृत्तिमा कथा उमार्न सहयोग गर्छ । जागिर तथा व्यवसाय गर्ने जोसुकैले पनि काँठमा महिलालाई धुुलिसात बनाएर काममा जोत्नु अनि आफूहरू फुर्सद पायो कि तास र नशामा झुम्नु विकृत परिवेशको चित्रण छ । घरमा बुहारी दासीका रूपमै सेविका । यही परिवेशलाई विद्रोह गर्न मायाले महिला सङ्गठित गर्ने प्रयासबाटै कथाले गति लिन्छ । विद्रोहको योजनाबिचमै पर्दाफास भए पनि त्यसको बेजोड प्रभाव पर्छ । विद्रोह प्रहरी हस्तक्षेपसम्म पुग्ने भयले हुन सक्छ, आवरणमा भने पनि विकृति न्यूनीकरण हुन्छ । ती तीन पुरुष सुध्रिएको नाटक गर्छन् तर महिलाप्रति हेय भावको पुरुषग्रन्थीमा मनोवैज्ञानिक इगो झनै बढाउँछ ।
मनुराज र जयद्रथ घरका महिलाबाट विस्तारै चिसिन्छन् । मायालाई चुलाचौकासँगै विद्यालयमा अध्यापनसम्म पुग्ने अवसर त हुन्छ तर घरमा जति नै काम गरे पनि परिवार बाङ्गिने क्रम हट्दैन । मनुराजको मन चिसिएको थाहा पाउँदै लोक सेवा उत्तीर्ण गर्दाको खबरले पतिपत्नीबिचको यौवनामा थप रोमाञ्च थप्ला भन्ने मायाको अनुमानको पासवर्ड मिल्दैन । विपरीत रूप लिन्छ । मनुराजले औषधी नै प्रयोग गरेर रोक्न चाहेको सन्तान चाह दुर्घटनामै परेर हुन सक्छ, मायाको कोखमा पुत्रभ्रुणले बास पाउँछ । विडम्बना ! मायाले घर छोडेर सिंहदरबारको खरदारी जागिरलाई झम्सिखेलमा डेरा लिएर धान्छे । पुत्र नाम सङ्घर्ष, सङ्घर्षै गरेर हुर्काउँदा अनेक घुम्ती र कष्टले ‘पुंसवन’ परिपक्व हुन्छ । छोरा हुर्काउन र उसको सुनिश्चित भविष्यप्रति मायाको कठोर निर्णयले सेरोगेसीको ढोकासम्म मायालाई पु-याउँछ ।
महिना एक– पर्यटक भिसामा माया अमेरिका जाने छे, महिना दुई– गर्भ सामान्य र सुनिश्चित र स्थिर भएको सुनिश्चितताका साथ ऊ नेपाल फर्कने छे... पृष्ठ ११६ ।
कोख भाडामा लगाउन मायाको कठोर निर्णय कार्यान्वयनमा नआउँदै विषयवस्तुले उथलपुथल ल्याउँछ । त्यस आँधीमा जयद्रथ मूल खलनायक पात्र समकालीन राजनीतिका बिचौलिया वा डन जस्तै हुन् । महाभारतमा कौरवका बहिनीज्वाइँ जयद्रथ, समकालीन राजकीय परिवेशमा चम्कन्छन् । दहचोकमै उही सिन्धु राज्य जस्तै खडा गर्छन्, साम्राज्यका रूपमै घरपरिवेशमा फराकिलो रिसोर्ट, पाँचतारे होटल सरहका सरसुविधा, सुरा र सुन्दरी । सिंहदरबारमा झन्डा हल्लाउने मन्त्री र सिङ्गो मन्त्रीपरिषद्लाई हल्लाउन सक्ने उसको बेजोड तागत । उसले भने अनुसारका राजकीय निर्णय, त्यसका निम्ति बिचौलियाहरूकै डन जयद्रथ । कमिसन र डनगिरीमा जयद्रथको साम्राज्यले उचाइ लिन्छ । श्रीमती शोभा केवल निरीह पत्नी हुन्छे । धन र भौतिक सुखसुविधाले उन्मुक्त जयद्रथको साम्राज्यले नेपालमै कृत्रिम कोख उत्पादन गर्ने अन्तर्राष्ट्रिय दलाली योजनामा राजनीति फस्दै जान्छ ।
यता जयद्रथको पापकुण्डरूपी साम्राज्यका दौलथ थपिँदो छ, उता मीना र पराशर कौशिकी किनारमा पुग्छन् । ‘पुंसवन’ का नामले विश्वभर सुपरिचित त्यस चतराधामनजिकैको आश्रम पूर्वीय वैदिक विधिविधानमा आधुनिक सूचनाप्रविधि थपिएर प्राकृतिक स्वर्ग जस्तै हुन्छ । बबाल कल्पना छ त्यहाँ । चाहेको लिङ्ग अनुसार सन्तान पाउन संसारभरका मानिस लालायित छन्, आउँछन् । दुई छोरीका मातापिता पराशर र मीना तेस्रो सन्तान छोरै पाउन पुग्छन् ‘पुंसवन’ आश्रम र सफल पनि हुन्छन् । दहचोकमा चर्चा चुलिन्छ ।
जयद्रथको कृत्रिम कोख अन्तर्राष्ट्रिय गिरोह परियोजनाको सूचना पत्नी शोभाबाटै चुहिन्छ र विरोध हुँदै विद्रोह झाँगिन्छ । मनुराज पनि जयद्रथको कोख बनाउने कारखाना खोल्ने कामको सूचना चुहाउन भगीरथ प्रयास गर्छ । मानव सृष्टिलाई कारखानामा पु-याउने पापिष्ट कार्य भन्दै विरोधमा आगो बल्छ । मनुराज र मायाबिच मिलाउने कडी विद्रोहकै ज्वालामा भेटिन्छ । सरकारै ढल्छ । त्यति मात्र होइन, दयद्रथको काल पनि बन्छ । कुनै बेला उसैका आदेशपालक सुरक्षा निकाय काल बनेर दयद्रथको इहलीला सक्छन्, जसरी कृष्णको आदेशले अर्जुनबाट उतिबेला जयद्रथको देह माटोमा मिलेको थियो । परिस्थिति यसरी विकास हुन्छ, कृत्रिम कोखको त्यो कुरूप परियोजना उद्घाटन हुन नपाउँदै मिसाइल आव्रmमणमा पर्छ तर कसले त्यो काम फत्ते ग-यो भन्ने भेउ कसैले पाउँदैन । शासक नै कुहिराको काग बन्छन् । प्रतिफलमा माया र मनुराजको मिलन ।
त्यो भव्य कमिसनखोरी परियोजनाको असफलता अन्तर्राष्ट्रिय समाचार बन्छ । महिला मुक्तिको नाममा भ्रूण व्यापार गर्ने त्यो स्वरैकल्पना भताभुङ्ग हुन्छ । अनेक सुरासुन्दरीमा रम्ने जयद्रथको त्यो भव्य दहचोक रिसोर्टको सम्पत्ति उसको मृत्युसँगै पत्नी शोभाको हातमा पुग्छ । अमेरिका र क्यानडामा रहेका छोराछोरीका साथमा ‘पुंसवन’ आश्रम चलाउन शोभाको सहमतिले कौशिकी नदी किनारको शाखा दहचोकमा खुल्ने तारतम्य मिल्छ ।
पुँजी जसको हुन्छ, उसैले नेतृत्व गर्छ भन्ने सोच बदलौँ, जो सक्षम छ उसैले नेतृत्व गर्ने चलन चलाऔँ... पृष्ठ २२४ ।
‘पुंसवन’ मायाको नेतृत्वमा चल्ने पक्का हुन्छ । कथावस्तु यति नै हो ।
उपन्यासको सन्देशमा भन्नु पर्दा माया नायिका हो । मनुराज नायक बन्न यत्न मात्रै गर्छ । नेपालमै कृत्रिम कोख अन्वेषणलाई सफल बनाउने अन्तर्राष्ट्रिय गिरोहको पत्रैपत्रले राज्ययन्त्रका विकृत प्रवृत्तिको ठुलो व्यङ्ग्य आयामिक छ । उपन्यास सरल छ, पढ्न थालेपछि छोड्न मन लाग्दैन । महिला समानता, अधिकार र आन्दोलनका अनेक पत्र छन् । सूचना प्रविधि, आधुनिक सामाजिक सञ्जाल, कृत्रिम बौद्धिकताका नयाँ अन्वेषण र प्रयोगलाई अतुलनीय प्रयोग गरिएको छ । त्यस्तो प्रयोगसँग नजिक नहुुने कतिपय पाठक अलमलमा पर्न पनि सक्छन् । राजनीति र राज्ययन्त्रमा मौलाएका विकृति र विसङ्गतिलाई राम्ररी भकुरिएको छ । परिस्कृत र सुशासनयुक्त राज्यसंयन्त्रको जिजीविषा छ । कौशिकी किनारको ‘पुंसवन’ आश्रम कसरी चलेको छ ? राज्यसंयन्त्रमा त्यस्तै सुशासन चाहिने उपन्यासको शिक्षा हुन सक्छ ।
निश्चय नै उपन्यास उत्तरआधुनिक नयाँ युगको प्रतिनिधित्व हो । उत्तरआधुनिकताले वैज्ञानिक वास्तविकतालाई व्यावहारिक सत्यसँग घोट्न यत्न गर्छ भन्ने सैद्धान्तिक मान्यता छ । उपन्यासको कथावस्तु र पात्रहरूले हरेक अवस्थामा विज्ञानसम्मत सत्यतथ्य अग्निपरीक्षा दिएका छन् । उपन्यासमा पात्रहरू सक्रिय त छन् तर त्यो सक्रियतामा लेखकीय विद्युतीय धारा उच्च भोल्टमा छ । लेखक महाभारतको सञ्जय भएर कथावस्तु तीव्र गतिमा सुनाइरहेका छन् । त्यसो हुँदा कतिपय पात्र अझै फुर्न नपाएको हो कि ? पात्रको स्वसंवादले अझ कृति उत्कृष्ट बन्ने थियो कि भन्ने कतिपय समालोचकलाई लाग्यो भने अन्यथा हुने छैन । पहिलो संस्करण २०८१ वैशाखमा प्रकाशित, प्रकाशक अनिल पाण्डे र मुद्रक आवृत्ति छापाखाना प्रालि बागबजार काठमाडौँ रहेको यस पुस्तकको मोल चार सय रुपियाँ मनासिबै लाग्छ ।