तानाशाहीको बिउ मलिलो माटोमा रोप्छौ,
चाकरीको मल र दासताको जल दिँदै हुर्काउँछौ विषवृक्षलाई
यसले वरिपरिको वातावरण बिगारे पनि तिमी
यसको फललाई स्वाद मानी मानी खान्छौ
आफ्नाहरू सबैलाई खुवाउँछौ र
सधँै खाइरहन पाऊँ भनी प्रार्थना गर्छाै,
तिमी कसरी प्रजातान्त्रिक ?
मजदुरको श्रमले कमाएको चौरासी व्यञ्जन खाएर
किसानको पसिना तन्तनी पिएर लट्ठिँदै
कानमा तेल हालेर त्यही विषवृक्षको छहारीमा
कुम्भकर्ण हुने
तिमी कस्तो लगनशील लोकतान्त्रिक ?
परिश्रमीको पसिनामा पौडिँदै
प्रदक्षिणा गर्न मरिहत्ते गर्ने
तिमी कसरी प्रजातान्त्रिक ?
जमिन र जङ्गलतिर कुदृष्टि लाउनेलाई
प्रकृतिप्रेमी भनिरहने
तिमी कसरी जनतान्त्रिक ?
तानाशाहको विकल्प देख्दैनौ
तिम्रा लागि एउटै छ हुटिट्याउँले सगर थाम्ने
नत्र आकाश खसेर संसार उहिल्यै ध्वस्त भइसक्थ्यो
यस्तो मनोदशामा सधँै रमाइरहने
तिम्रो कस्तो प्रजातान्त्रिक सचेतना ?
भण्डार खनेर आँगन पुर्नेलाई
पूजाको थालीमा सजाएर मन्दिर लाने
तिमी कसरी हितैषी लोकतान्त्रिक ?
भयो, अति भयो, धेरै सुत्यौ अब
जाग अनि चेतना र विवेकको बाटोमा लाग
लालचमा परी चाकरी गरी आफ्नो अस्तित्व नगुमाऊ
दास भएर सम्पूर्ण मनुषत्व नगुमाऊ ।