अमृतप्रसाद पौडेल
म्याग्दी, साउन ४ गते । हिमाली जिल्ला म्याग्दीबाट ३५ जनाले गैर-आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । लामो समयसम्म विदेशमा रहँदै आएका नेपालीहरुले गैर आवासीय नेपाली नागरिकता लिएका हुन् । 
हिमाल आरोही निर्मल पुर्जालगायतले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनुभएको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तका अनुसार पछिल्लो समय म्याग्दीको बेनी नगरपालिका–४, बास्कुनाका लालबहादुर केसीले बिहीबार गैर–आवासीय नेपाली नागरिकता लिनुभएको छ । सन् १९९६ देखि न्युजिल्यान्डमा बसोबास गर्दै आउनुभएका उहाँले जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरेर नागरिकता लिनुभएको हो । 
न्युजिल्याण्डमा रहेका नेपालीमध्ये सफल व्यवसायीसमेत रहुनभएका गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) न्युजिल्यान्डको लगातार दोस्राे कार्यकाल अध्यक्ष रहनुभएका केसीलाई प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । 
केसी न्युजिल्याण्डमा रहेका म्याग्देलीमध्ये एनआरएन नागरिकता लिने पहिलो व्यक्ति रहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । गत वर्षको जेठमा संशोधन भएको नागरिकता सम्बन्धी ऐन अनुसार नागरिकता नियमावली अनुसार सरकारले यसअघि नै स्वीकृत गरेकाले गैर आवासीय नेपालीलाई नेपालको नागरिकता पाउने बाटो खुलेको थियो । एनआरएन नागरिकता प्राप्त व्यक्तिले राजनीतिक अधिकार बाहेक वंशजको नागरिकतामा हुने सबै अधिकार प्राप्त गर्न पाउने प्रावधान छ । 
एनआरएन नागरिकताको सुविधाले अबका दिनमा विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरूबाट ठूलो मात्रामा धनसम्पत्ती नेपालमा भित्रिने अपेक्षा गरिएको छ । त्यस्तै, लगानी भित्र्याउन यो प्रावधानले उपयुक्त वातावरण बनेको अध्यक्ष केसीको भनाइ छ ।
"यो अवसरका लागि नेपाल सरकारलाई धन्यवाद दिन्छु, विदेश जानु बाध्यता भए पनि स्वदेशमै केही गरौं भन्ने नेपालीहरू यो सुविधाले खुसी छन्", केसीले भन्नुभयो । १६ वर्षदेखि जन्मभूमि बास्कुनामा सुन्तला खेती गरिरहेका केसीले गाउँका कृषकहरूलाई आधुनिक बगैँचा व्यवस्थापन गरी उचित मूल्यमा सुन्तला बगैंचाबाटै बिक्री वितरण र तालिम र प्रविधि हस्तान्तरणमा सघाइरहनुभएको छ ।
एनआरएन न्युजिल्याण्डका अध्यक्ष केसीले न्युजिरल्याण्डमा किबी खेती गरी उच्च गुणस्तरको किबी बिक्री गरिरहेको अवस्थामा नेपालबाट समेत विश्व बजारमा लैजानका लागि म्याग्दी, बागलुङ, पर्वत सहित गण्डकी प्रदेशमा किबी खेतीको सम्भावना भएका जिल्लालाई पहिलो किबी खेतीको हब बनाउने गरी अहिले प्रारम्भिक चरणको काममा व्यस्त रहेको बताउनुभएको छ । उहाँले नेपालबाट विश्वबजारमा फलफूललाई निर्यात गर्न सकिने प्रशस्तै सम्भावना रहेको बताउँदै नेपाली हावापानीमा उत्पादन भएका फलफूलको ग्रेडिङ गरी पठाउन सकिने अवस्थामा नेपाल सरकारबाट रचनात्मक सहयोग आवश्यक रहेको बताउनुभयो । 
जिल्ला प्रशासन कार्यालय म्याग्दीले गत वर्षदेखि गैर आवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको थियो । २०८० माा ३० वटा गैर आवासीय नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयले २०८१ मा पाँच जनालाई नागरिकता प्रदान गरेको सहायक प्रजिअ पन्तको भनाइ छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                