• १३ साउन २०८१, आइतबार

ज्येष्ठ नागरिकका लागि सभाहल निर्माण

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन ४ गते । हिमाली जिल्ला म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधामस्थित रहेको ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकलाई लक्षित गरी सभाहल निर्माण गरिएको छ । 

बेनी नगरपालिका–९, मा रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोष र ज्येष्ठ नागरिक आश्रमको संयुक्त लगानीमा सभा हल निर्माण गरिएको सभाहलको शुक्रबार उद्घाटन गरिएको हो ।

आश्रममा रहेका ज्येष्ठ नागरिकलाई विश्रामस्थल, धार्मिक गतिविधि, भेला तथा भेटघाट र विभिन्न कार्यक्रम गर्न मिल्ने बहुउद्देश्यीय तबरले निर्माण गरिएको सो हलका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ लाख र ज्येष्ठ नागरिक आश्रमको तीन लाख ४९ हजार ६ सय ५० रुपियाँ गरी कुल १८ लाख ४९ हजार ६ सय पचास रुपियाँ लागतमा निर्माण सम्पन्न भएको ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

ज्येष्ठ नागरिक आश्रम परिसरमा जेष्ठ नागरिक आश्रमलाई लक्षितगरी सञ्चालित सामुदायिक स्वास्थ्य एकाइको भवनको माथिल्लो तलामा फेब्रिक प्रविधिबाट निर्माण गरिएको सभाहल दुईसय जना राखेर सभा गर्न मिल्ने क्षमता रहेको छ । 

विगतमा ज्येष्ठ नागरिकलक्षित कार्यक्रम खुल्लाचौरमा गर्नुपर्ने बाध्यता थियो, अब त्यो हटेको छ, सभा हलमा टेलिभिजनबाट प्रवचनसहित दृष्य हेर्ने सुविधा थप्ने समेत योजना रहेको अध्यक्ष पुनले बताउनुभयो । 

भवन उद्घाटन कार्यक्रम बेनी नगरपालिका –९ का वडाध्यक्ष चक्रबहादुर केसीले समुदायस्तरबाट ज्येष्ठ नागरिकको आश्रमसहितको संरचना ब्यवस्थापन गरिएको बताउँदै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनेगरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको बताउनुभयो । 

गलेश्वर शिवालय क्षेत्र विकास कोषले पनि सामाजिक उत्तरदायित्वका लागि कामहरु गर्दैआएको र अझै धेरै गर्नुपर्ने उहाँको तर्क थियो । सोही अवसरमा गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले ज्येष्ठ नागरिकका लागि पर्ने आवश्यकतालाई पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । 

त्यस्तै, गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले कोष, आश्रम र अन्न क्षेत्रबिचको सहकार्यलाई थप बलियो बनाउने बताउनुभयो ।