काठमाडौँ, साउन ४ गते । रुकुमपूर्वका मगर समुदायमा घरज्वाइँ बसेर ससुराको मन जित्ने परम्परा रहेको छ । जात्रा, पर्वबाट युवती भगाएर लगेपछि माइती पक्षलाई खुसी नपारी माइती-ससुराली जाने बाटो बन्द हुन्छ । ससुराली पक्षलाई खुसी बनाउन ज्वाइँले एक महिना ससुरालीमै बसेर घरधन्दा र बाहिरी काममा सघाउने गर्छन् । यसरी ससुराली पक्ष खुसी भएपछि रीतिरिवाज अनुसार पुनः विवाह गरिन्छ । यो चलन अहिलेसमेत कायम छ । सोही चलनको मूल कथावस्तु लिएर निर्माण गरिएको चलचित्र ‘घरज्वाइँ’ काठमाडौँलगायत देशभर प्रदर्शन भइरहेको छ ।
ससुरालीमा बसेर काममा सघाउने कार्यलाई मगर संस्कृतिमा सकारात्मक र समान्य रूपमा लिइन्छ । चलचित्र ‘घरज्वाइँ’ माइती पक्षलाई फकाउन अर्थात् घरमूली ससुरालाई खुसी बनाउन गरिएको सङ्घर्षको कथा हो । घरज्वाइँ बसेर ससुराली पक्ष रिजाउन गरेको सङ्घर्ष, गाउँमा देखिने खेतबारी, डोको बुन्ने जस्ता रैथाने जीवनशैलीलाई चलचित्रमा सुन्दर ढङ्गमा देखाउन खोजिएको छ ।
सहर बसेर पढेका सोरो (दयाहाङ राई) निकै सोझा छन् । स्कुलमा शिक्षकको जागिर खाएपछि जब उनले भलिबल खेलिरहेकी बिन्जुरी (मिरुना मगर) देख्छन्, त्यसपछि उनीभित्र उनीप्रति माया पलाउन थाल्छ । यसपछि सोरोमाथि अनेकन आपत्ति आइलाग्न थाल्छ । आफ्नो प्रेमलाई बचाइराख्न उनले आफ्नो स्वाभिमान दाउमा राख्नुपर्ने हुन्छ । प्रेमलाई विवाहमा परिणत गर्न उनले एक महिना घरज्वाइँ बसेर ससुरालाई रिझाउनु पर्छ । सहरिया सोरो बिन्जुरीलाई घर लिएर जान सफल हुन्छ या उनलाई घरज्वाइँ नै बस्नुपर्ने बाध्यता आइलाग्छ ।
सोरोको भूमिकामा दयाहाङ राईको काम प्रशंसायोग्य छ । अघिल्लो चलचित्र ‘गाउँ आएको बाटो’ पछि उनले यसमा पनि फरक शैलीको अभिनय पस्केका छन् । मिरुनामा मगरलाई बिन्जुरीको भूमिका एकदमै सुहाएको छ । उनकोे संवाद सम्प्रेषण शैली प्राकृतिक छ ।
दानबहादुरको भूमिकामा देखिएका शिशिर बाङ्देलको भूमिकालाई पनि हामीले बिर्सन हुन्न । कडा स्वभावको अभिनय रुचाउने उनी यसमा केही फरक देखिएका छन् । चलचित्रमा सुरुदेखि अन्त्यसम्म उनको भूमिका महŒवपूर्ण छ । चलचित्रमा क्लाइमेक्स ल्याउने धेरथोर काम उनको पनि छ । प्रायः हास्य भूमिकामा देखिने डम्मरे (बुद्धि तामाङ) को अभिनय शैली अन्य चलचित्रमा भन्दा फरक देखिन्छ । बुद्धि तामाङको ‘पेटेन्ट राइट’ जस्तै बनेको ‘हैट’ भन्ने थेगो यसमा प्रयोग गरिएको छैन । सम्झनाको भूमिकामा अनु थापाको अभिनय सम्झनलायक छ । अन्य कलाकार खड्गबहादुर पुन (खगपु), राज थापा, पुष्कर गुरुङ, कविता आले, सुनिल मगर, सोनाम लामा र भोलाराज सापकोटाको अभिनयलाई ठिकठाक भन्नु पर्छ ।
वृत्तचित्र निर्देशनमा पोख्त अनिल बुढामगरले ‘घरज्वाइँ’ बाट अवश्य बाजी मार्ने छन् । चलचित्रमा कमजोरी नभएको होइन तर चलचित्रको कथाले ती कमजोरीलाई बिर्सन बाध्य पार्छ । जीवन भोगाइका कथा र मगर समुदायको चलनचल्ती बुझ्न चाहनेलाई चलचित्र धेरै सहयोगी हुन सक्छ ।
सन् २०२१ मा वृत्तचित्र ‘आग्रे’ र सन् २०१२ को ‘लोम्बा’ नामक लघुचलचित्र बनाएका मगरले वृत्तचित्र निर्देशनमा राम्रो अनुभव समाले झैँ चलचित्र निर्देशनमा पनि अवश्य तारिफ बटुल्ने छन् । गाउँले परिवेशमा सहरिया पात्रको अस्पष्ट मनस्थितिलाई निर्देशक मगरले बिल्कुलै नयाँ ढङ्गबाट चलचित्रमा पस्केका छन् ।