• ८ पुस २०८१, सोमबार

कुशल पाइलटको कथा रनवे ३४

blog

सुकृत नेपाल

काठमाडौँ, वैशाख १९ गते । बलिउड अभिनेता अजय देवगनले फेरि एक पटक चलचित्र ‘रनवे ३४’ बाट  आफ्नो निर्देशकीय क्षमता देखाएका छन् । चलचित्रको कथा सन् २०१५ मा दोहाबाट कोचिन आउँदै गरेको जेट एयरवेजको विमानसँग भएको सत्य घटनामा आधारित छ । एउटा पाइलटले खराब मौसम हुँदाहुँदै पनि कसरी जोखिम उठाएर यात्रुहरूको बचाउ गर्छन् भन्ने कुरा चलचित्रमा देखाइएको छ ।

एउटा अनुभवी पाइलट विक्रान्त खन्ना (अजय देवगन) र उनका सहपाइलट तान्या (रकुलप्रित सिंह)ले खराब मौसमको अवस्था, बाहिरको कमजोर दृश्य, इन्धनको अभाव र आतङ्कित यात्रुको बीचमा कसरी प्लेनलाई सुरक्षित अवतरण गर्छन् भन्ने चलचित्रको मुख्य विषय हो ।प्लेनमा बसेका यात्रुहरू कसैलाई चोट लाग्दैन सबैलाई विक्रान्त सकुशल अवतरण गराउँछन् । विक्रान्तलाई चकित पार्ने जति कठिनाइ आए पनि उनी नआत्तिकन आफ्नो लक्ष्यमा सफल हुन्छन् तर यो अवतरणसँगै चलचित्रको कथामा ठूलो ट्विस्ट आउँछ ।

विक्रान्तको साहसी कार्यको सबैले प्रशंसा गर्नुपर्छ र गर्छन् पनि तर यसो हुँदाहुँदै पनि उनी प्रश्नको घेरामा पर्छन् । चलचित्रको चाखलाग्दो कुरा के छ भने विमान, ट्युबलेन्स र पाइलटको कामबाहेक  यसले उड्डयन उद्योगको अँध्यारो पक्षलाई खुला रूपमा प्रकाश पारेको छ ।

चलचित्र मध्यान्तरसम ठीकठाक नै भन्नुपर्छ । ककपिटभित्र बसेका पाइलटले आफ्नो अगाडि आएको बाधा अड्चनको कसरी समाधान गर्छन् भन्ने कुरालाई चलचित्रमा सही ढङ्गबाट प्रस्तुत गरिएको छ । कसरी विक्रान्त र तान्याले प्लेनलाई सुरक्षित ढङ्गबाट अवतरण गराउँछन् भन्ने कुराले चलचित्रमा दर्शकभित्र कौतूहल जगाइरहनु नै चलचित्रको राम्रो पक्ष हो । चलचित्र दुई भागमा बाँडिएको छ ।

मध्यान्तर पहिला प्लेन अवतरण गराउन गरिएको सङ्घर्षलाई देखाइएको छ भने अर्कोतिर प्लेन अवतरण भइसकेपछि देखाइने अदालतभित्र भएको बहसले पनि दर्शकलाई रोमाञ्चित बनाउँछ । एरोप्लेन एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोका अनुभवी वकिल हुन्छ नारायण वेदान्त (अमिताभ बच्चन) । उनले नै यो अवतरण किन यसरी गराइयो भन्ने विषयमा विक्रान्त र तान्यासँग जाँचबुझ गर्छन् ।

चलचित्रमा विक्रान्तलाई धेरै नै होसियार पाइलटका रूपमा देखाउन खोजिएको छ । उनलाई आफूले फोटोग्राफी दिमाग पाएकोमा गर्व लाग्छ । उनीमा प्लेनभित्र हुने हरेक कुरा र प्लेनमा भएका हरेक कुरा सम्झिरहने क्षमता छ । हजार फिट उचाइमा पुगेपछि उनी भन्छन्, यहाँ भावना होइन अङ्क गणितको आकलन चल्छ । अजय देवगनको अभिनय ठीकठाक छ । चलचित्रमा उनीभित्र कलाकारिता कम निर्देशकीय पक्ष धेरै छल्किएको छ । अमिताभ बच्चनको भूमिकामा खासै नयाँपन छैन । रकुलप्रित सिंहले आफूले जति सक्ने हो त्यति क्षमता देखाएकी छिन् । 

यीबाहेक चलचित्रमा वुमन इरानी, आकाङ्क्षा सिंह, अङ्गिरा धर र युट्युबर क्यारी मिनातीको पनि अभिनय छ । समग्रमा ‘रनवे ३४’ अजय देवगनको उत्कृष्ट चलचित्रमध्ये एक हो भन्दा फरक पर्दैन । चलचित्रमा थोरै झट्का छ, थोरै इन्धन कम छ तैपनि निर्देशकले चलचित्रलाई सजिलै दर्शकसामु अवतरण गरेका छन् ।