• १२ साउन २०८१, शनिबार

सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नु हो : गृहमन्त्री लेखक

blog

गृहमन्त्री रमेश लेखक सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै । तस्बिर : विमलबहादुर बिष्ट/रासस

काठमाडौँ, असार ३१ गते । नवनियुक्त गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नुभएको बताउनुभएको छ ।

सोमबार गृह मन्त्रालयमा आयोजित स्वागत तथा पदबहाली कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नुभएको बताउनुभएको हो ।

उहाँले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु र अर्थतन्त्रलाई उकास्ने काम पनि सरकारको प्राथमिकतामा रहेको जिकिर गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशितालाई सुदृढ गर्नका लागि संविधानको समीक्षा गर्नु पनि सरकारको प्राथमिकता रहेको स्पष्ट पार्नुभयो ।

गृहमन्त्री लेखले भन्नुभयो, ‘‘अहिले नेपाल सरकारको प्राथमिकता भनेको राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, अर्थतन्त्रमा जुन शिथिलता, सङ्कुचन देखा परेको छ, अर्थतन्त्रलाई क्रियाशील, चलायमान गरेर अर्थतन्त्र उकास्ने । संविधानको समीक्षा गर्ने, मूल्याङ्कन गर्ने । मूल्याङ्कन के प्रयोजनका लागि गर्ने भन्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशिता जुन संविधानका मूल तत्त्वहरू छन्, त्यसलाई सुदृढ गर्न, बलियो बनाउनका लागि त्यसलाई अगाडि लिएर जानका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण गर्ने लगायतका कामहरू अहिले सरकारको प्राथमिकता हुन् र त्यो उद्देश्यका साथ यो सरकार गठन भएको छ ।’’

गृहमन्त्री लेखकले गृहमन्त्रीको रूपमा आफूले गर्ने काम विधिको शासन, शान्ति व्यवस्था र अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रित हुने बताउनुभयो । उहाँले प्राकृतिक प्रकोपका कारण सिर्जित परिस्थितिको सम्बोधन गर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले प्राकृतिक प्रकोपले जुन विषम परिस्थिति उत्पन्न गरेको छ, यसको सम्बोधन गर्ने हाम्रो दायित्व हो । यो मन्त्रालयले विधिको शासन स्थापना गर्ने, देशको शान्ति सुरक्षा, अपराध नियन्त्रणको काममा दत्तचित्त भएर लाग्ने यो मन्त्रालयको काम रहने छ । मेरा सबै कामहरू देशमा विधिको शासन, शान्ति व्यवस्था, अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रित रहनेछ ।’’गृहमन्त्री लेखकले आफूले इमान्दारिता र निष्ठापूर्वक काम गर्ने बताउनुभयो ।