• ११ असोज २०८१, शुक्रबार

पाथीभरा सडक कालोपत्रे धमाधम

blog

फाईल तस्विर

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, वैशाख १९ गते  । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । पाथीभरा सडकको सुकेटार–काफ्लेपाटी खण्डको कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो । ट्याक निर्माण भएको लामो समयपछि उक्त सडकखण्ड कालोपत्रे गर्न लागिएको हो । कुल ११ किलोमिटर दूरी रहेको सुकेटार–काफ्लेपाटी सडक खण्ड कालोपत्रे हुने भएको हो । दर्शनार्थीका कारण अध्यधिक सवारी चाप हुने यो सडक वर्षा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । 

उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्यालय ताप्लेजुङका अनुसार सडक कालोपत्रे गर्ने जिम्मा कन्टेक निर्माण प्रालिले पाएसँगै निर्माणको कार्य सुरु भएको छ । सडक कालोपत्रे गर्नेलाई अहिले नाली निर्माण, ग्राभेल गर्नेजस्ता कार्यहरू धामधम भइरहेको कन्टेक निर्माण प्रालिका प्रबन्ध निर्देशक गणेश मैनालीले जानकारी दिनुभयो ।

निर्देशक मैनालीका अनुसार दुईवटा एक्साभेटरलगायत उपकरणको प्रयोग गरी ग्राभेल गर्ने कार्य भइरहेको छ । अबको दुई/चार दिनभित्रै कालोपत्रे गर्नका लागि आवश्यक पर्ने थप मेसिन तथा उपकरण आइपुग्ने उहाँले बताउनुभयो । ठेक्का सम्झौता समयअगावै कालोपत्रे गरिसक्ने योजनाका साथ निर्माणको कार्यलाई तीब्रता दिएको पनि उहाँले जानकारी दिनुभयो । 

यता उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्यालयका सब–इन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग ४० करोड ७६ लाख रुपियाँ बजेटमा ठेक्का सम्झौता भएको हो । लिम्बूले दुई वर्षभित्र उक्त सडकखण्डमा कालोपत्रे निर्माण गरिसक्ने गरी कम्पनीसँग सम्झौता भएको पनि जानकारी दिनुभयो । पाथीभरा सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर मेची राजमार्ग पर्ने भएकाले पहिले नै कालोपत्रे गरिएको छ ।

पाथीभरा सडक कालोपत्रे भएपछि पाथीभरा दर्शनमा आउने तीर्थयात्रीलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले सडक कालोपत्रे भएमा तीर्थयात्रीको सङ्ख्या दोब्बरले बढ्नसक्ने बताउनुभयो । समितिको तथ्याङ्क अनुसार हाल वार्षिक तीन लाखको हाराहारीमा तीर्थयात्री पाथीभराको दर्शन गर्न आउने गरेका छन् ।