बाबुराम कार्की
वराहक्षेत्र, असार ३१ गते । रामको पाउ स्पर्श भएको विश्वास गरिने रामधुनी मन्दिर धार्मिक पर्यटकीय स्थलका रूपमा विकास भइरहेको छ । पौराणिक कथन अनुसार त्रेतायुगमा श्री रामचन्द्र वनवासका व्रmममा यस तपोवनको पुण्यस्थलमा धुनी लगाएर एक रात बास बसेको र आफ्ना पाउका एक जोर खराउ बास बसेकै ठाउँमा छाडी गएको भन्ने भनाइ छ । रामको चरण परेको भूमि र उनले बालेको धुनी हेर्न दैनिक देश तथा विदेशबाट श्रद्धालु दर्शन गर्न आइपुग्ने गरेका छन् ।
विगतमा ओझेलमा परेको मन्दिरको मुहार सरोकारवालाको चासो पुग्दा फेरिने क्रमसँगै मन्दिरमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका र भोक्राहा नरसिङ्ग गाउँपालिकाको सीमामा पर्ने रामधुनी नगरपालिका–४, रामधुनी जङ्गलको बिचमा अवस्थित मन्दिरका संरचना निर्माण हुँदा धार्मिक पर्यटकीय स्थलका रूपमा बदलिएको प्रकाशपुरका रमेश कार्की बताउनुहुन्छ ।
मन्दिरको विकासका लागि विभिन्न समयमा सङ्घीय सरकार र रामधुनी नगरपालिकाले रकम छुट्याएपछि मन्दिर क्षेत्रको विकासमा सहयोग पुगेको रामधुनी बाबा बनस्खण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताउनुभयो । उहाँका अनुसार सङ्घीय सरकार र रामधुनी नगरपालिकाबाट बजेट छुट्टिएपछि मन्दिर क्षेत्रमा भौतिक संरचना निर्माण भएको छ । उहाँले भन्नुभयो, “मन्दिरलाई संवर्धन गर्दै मन्दिरको विकास गर्न थप संरचना निर्माण हुने कार्य भइरहेको छ । प्रवेशद्वार (गेट) बनाइएको छ । मन्दिरपरिसरमा भुइँमा ब्लक लगाइएको छ । कमलकुण्ड पोखरीवरिपरि स्टिलको रेलिङ, घेराबारले मन्दिरपरिसरको रूप फेरिएको छ ।”
परिसरमा अष्टचिरञ्जीवीको मन्दिर, श्रीयन्त्रको मन्दिर, मन्दिर क्षेत्रमा श्री चन्द्र बाबा वनस्खण्डी र प्रीतम दासकोे मन्दिर र रामदरबारसमेत निर्माण भइरहेको छ । मन्दिरमा एक सयभन्दा बढी स्थानीय गाई पालिएको छ । रामधुनी मन्दिरमा पछिल्ला केही वर्षदेखि भारतबाट समेत उदासी सम्प्रदायका भक्त दर्शनका लागि आउने गरेका छन् । श्री चन्द्र बाबा, वनस्खण्डी र प्रीतम दासको मन्दिरको प्राणप्रतिष्ठा भएसँगै भक्तजन दर्शनका लागि आउने गरेका छन् । मन्दिरले पूर्वी नेपालको पर्यटन विकासमा सघाउ पु-याउँदै आएको छ ।
रामनवमी विवाहपञ्चमी, ऋषिपञ्चमी, शिवरात्रि, तीज आदि पर्वमा नेपालका विभिन्न स्थान र भारतबाट समेत श्रद्धालु भक्तजनको मन्दिरमा घुइँचो लाग्ने गरेको छ । धुनी मन्दिरमा पूजा, आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ ।