• १३ साउन २०८१, आइतबार

‘कोशी प्रदेशलाई खेलकुदको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्नेछौँ’

blog

तस्बिर : रासस

मोरङ, असार ३० गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदको महत्त्वपूर्ण गन्तव्यका रुपमा विकास गर्ने बताउनुभएको छ । प्रदेश खेलकुद विकास बोर्डद्वारा आज विराटनगरमा आयोजित अन्तरप्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान कार्यक्रममा उहाँले त्यस्तो बताउनुभएको हो । 

कार्यक्रममा दुई सय जनालाई नगदसहित सम्मान गरिएको थियो । मुख्यमन्त्री कार्कीले आगामी खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर तीन वर्षभित्र प्रदेशलाई पूर्वाधार निर्माण, प्रशिक्षणका लागि आवश्यक व्यवस्था गरिने भन्नुहुँदै यस कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले चाँडै प्रदेश खेलकुद परिषद् निर्माण गरी खेलकुदको समग्र विकासका प्रयास अगाडि बढ्ने जानकारी दिनुभयो । 

प्रदेशमा खेलकुदका संरचना निर्माणका क्रममा झापामा आदिवासी रङ्गशाला निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने उहाँको भनाइ छ । “खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ । त्यसैले विभिन्न जिल्लामा पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि आवश्यक काम अगाडि बढाइएका छन् । झापामा रङ्गशाला बन्दैछ, सङ्घीय सरकारको मातहतमा  विराटनगरको बैजनाथपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई प्रदेशमा ल्याउन पहल सुरु गरेका छौँ । यस क्षेत्रमा इन्डोर खेलकुद प्रतियोगिता आयोजना गर्न विराटनगर आसपासमा आवश्यक संरचना निर्माण गरिनेछ”, मुख्यमन्त्री कार्कीले भन्नुभयो । 

प्रदेश खेलकुद विकास बोर्डका सदस्य-सचिव कृष्ण बस्नेत (परशुराम)ले खेलाडीको हौसला र उत्साहका लागि सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । त्यस अवसरमा खेलकुद क्षेत्रमा कलम चलाउने प्रदेशका सात जना सञ्चारकर्मीलाई नगदसहित सम्मान गरिएको थियो । रासस