• १७ असार २०८१, सोमबार

एमाले–राप्रपाको घोषणापत्र : पूर्वाधारलाई प्राथमिकता

blog

गलकोट समाचारदाता

बागलुङ, वैशाख १९ गते । बागलुङमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी तालमेल गरेका छन् । एमालेले नगरप्रमुख र राप्रपाले उपप्रमुखको भागबन्डा गरी चुनावी गठबन्धन गरेका हुन् । एमालेले प्रमुखमा प्रदेश कमिटी सचिवालय सदस्य जनकराज पौडेल र राप्रपाले जिल्ला समिति सदस्य सञ्जय खड्कालाई उपप्रमुखको उम्मेदवार बनाएको छ । पहिलो स्थानीय तह निर्वाचनमा पनि चुनावी तालमेल गरेका दुई दल दुवै पदमा विजयी भएका थिए । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै एमाले र राप्रपाले आइतबार चुनावी घोषणपत्र सार्वजनिक गरेका छन् । 

साझा घोषणापत्रमा नगर क्षेत्रमा ठूला पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको एमाले नगर कमिटी सचिव रामकृष्ण शर्माले जानकारी दिनुभयो । ‘समृद्ध बागलुङ नगर–सुखी नगरवासी’को नगर आकाङ्क्षा पूरा गर्न एकीकृत सहरी विकास योजना लागू गर्नुका साथै बागलुङ नगरलाई पर्यटकीय, व्यापारी एवं सांस्कृतिक नगरका रूपमा विकास गर्ने योजना घोषणपत्रमा समावेश गरिएको छ । 

नगरपालिकाको आधुनिक प्रशासकीय भवन निर्माण, नगरपालिकाको केन्द्रदेखि प्रत्येक वडा जोड्ने सडक दुई वर्षभित्र कालोपत्रे, नगरका १४ वटा वडा समेट्ने गरी नगर सडक सञ्जाल पूरा गर्ने योजना राखिएको छ । बजारभित्र रहेको विद्युतीय तथा टेलिफोनका तार जमिनमुनि व्यवस्थापन, आधुनिक सुविधासम्म ज्येष्ठ नागरिक केन्द्र निर्माण गर्ने योजना तयार भएको उम्मेदवार जनकराज पौडेलले बताउनुभयो  । 

धौलागिरि उपप्रादेशिक अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्नुका साथै गम्भीर प्रकृतिका रोग (मुटु, मिर्गौला, क्यान्सर, पाठेघर)को उपचार नगरपालिकाबाट हुने व्यवस्था गर्ने योजना घोषणपत्रमा समावेश गरिएको छ । 

५० वर्षमाथिका नागरिकको वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ । सामुदायिक विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकास गर्नुका साथै अङ्ग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्थापन मिलाउने घोषणा गरिएको छ ।