• ९ मंसिर २०८१, आइतबार

देशभर बयालिस प्रतिशत रोपाइँ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ३० गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म देशभर ४२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये पाँच लाख ९५ हजार १२९ हेक्टर (४२.६ प्रतिशत) मा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ । 

हालसम्म सबभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ भने सबभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ । कृषि विभागका प्रवक्ता डा. अरुण काफ्लेका अनुसार सुदूरपश्चिम प्रदेशमा एक लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये हालसम्म एक लाख ५० हजार ६२ हेक्टरमा (८६.२ प्रतिशत) रोपाइँ भइसकेको छ । 

कृषि मन्त्रालयका तथ्याङ्क अनुसार मधेश प्रदेशमा तीन लाख ८३ हजार १५० हेक्टरमा धान खेती हुन्छ त्यसमध्ये ९७ हजार ८५१ हेक्टर क्षेत्रफलमा अर्थात् २५.५ प्रतिशत रोपाइँ मात्र भएको छ । यस्तै कोशी प्रदेशमा हालसम्म ९५ हजार १७० हेक्टर (३४.४ प्रतिशत) क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । त्यहाँ दुई लाख ७६ हजार ३८६ हेक्टरमा रोपाइँ हुने गरेको छ । 

बागमती प्रदेशमा ४६ हजार ४४ हेक्टर अर्थात् ४०.२ प्रतिशतमा रोपाइँ भएको छ । त्यहाँ एक लाख १४ हजार ५६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । त्यस्तै गण्डकी प्रदेशमा हालसम्म ४७ हजार ७३३ हेक्टर अर्थात् ४९.७ प्रतिशत रोपाइँ भएको छ । सो प्रदेश ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुने गरेको छ । 

यसै गरी लुम्बिनी प्रदेशमा एक लाख ३८ हजार ३६४ हेक्टरमा (४४.४ प्रतिशत) धान रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा तीन लाख ११ लाख ६४३ हेक्टरमा धान रोपाइँ हुने गरेको छ । कर्णाली प्रदेशमा ४१ हजार ९०४ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म १९ हजार ९०४ हेक्टर (४७.५ प्रतिशत) क्षेत्रफलमा रोपाइँ भएको छ । 

गत वर्ष १४ लाख ९६ हजार ८३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा यो समयसम्म छ लाख ४२ हजार २८४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । कृषि मन्त्रालयका अनुसार देशभर १३ देखि १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।