• १६ भदौ २०८१, आइतबार

गत वर्षकै हाराहारीमा चैते धान उत्पादन

blog

कैलालीको भजनीमा चैते धान काट्दै किसान । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार २९ गते । अन्न भण्डार जिल्लाको रूपमा चिनिने कैलालीमा यसवर्ष गतवर्षकै हाराहारीमा चैते धान उत्पादन भएको छ । यहाँ यस वर्ष पाँच हजार ७२० मेट्रिक टन धान उत्पादन भएको छ ।

गत वर्ष पनि लगभग यति नै चैते धान उत्पादन भएको थियो । चैते धान खेतीको क्षेत्रफल नबढेका कारण उत्पादनमा खासै वृद्धि नभएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । 

यो वर्ष एक हजार १०० हेक्टर जमिनमा चैते धान खेती गरिएको थियो । प्रतिहेक्टर जमिनमा ५ दशमलव २ मेट्रिक टनका दरले चैते धान फलेको केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले बताउनुभयो । उहाँका अनुसार बर्खेभन्दा चैते धानको उत्पादन भने राम्रो रहेको छ । 

जिल्लाको अति डुबान प्रभावित भजनी नगरपालिका र जोशीपुर गाउँपालिका किसानले व्यावसायिक रूपमै चैते धान खेती गर्दैआएका जनाइएको छ । बर्खे धान भित्र्याउने सुनिश्चितता नहुने गरेका कारण वर्षभरीका लागि खाद्यान्न जोहो गर्न डुबान प्रभावित क्षेत्रका किसानको आकर्षण चैते धान खेतीमा रहेको सूचना अधिकारी जोशीको भनाइ छ ।