• १३ असार २०८२, शुक्रबार

स्वाभिमानी नेताको अवसान

blog

मुलुकमा राजनीतिक चेतना ल्याउन भनेरै क्रान्तिमा होमिएका अघिल्लो पुस्ताका नेताहरू कोही पनि कमाइ खान राजनीतिमा लागेका थिएनन् । राजनीति भनेको जन सेवा हो, कमाइ खाने माध्यम होइन भन्ने थियो । आज राजनीतिलाई विशुद्ध कमाइ खाने माध्यम बनाइएको छ । ती नेताहरूले पद प्राप्तिका लागि स्वाभिमान बेचेनन् । तिनैमध्येका एक हुनुहुन्थ्यो ढुण्डिराज शास्त्री । यही असार २ गते उहाँको अवसान भयो । 

शास्त्रीको जन्म विसं १९९३ जेठ २५ गते पण्डित खेमराज पौडेल एवं उहाँकी कान्छी धर्मपत्नी सावित्री पौडेलका प्रथम पुत्ररत्नका रूपमा गुल्मीमा भएको थियो । पं. खेमराजमा शिक्षाप्रति रुचि थियो । खेमराजको भानिज टङ्कप्रसाद ज्ञवालीले आफ्नै घरमा दलाने पाठशाला खोल्नुभएको थियो । त्यही पाठशालाबाट शास्त्री साक्षर बन्नुभएको थियो । त्यसपछि डिभर्नाका पण्डित रुद्रनाथ आचार्य, भ्वाङ्‍का पं. गोविन्दप्रसाद मरासिनी, एवम् अँधेरीका पं. घनश्याम आचार्यबाट लघुकौमुदीको अध्ययन गरी हरिहर संस्कृत पाठशाला खिदिममा पं. घनश्याम पौडेलसँग मध्यकौमुदीको अध्ययन सकी उच्च शिक्षाका लागि वाराणसी जानुभयो । वाराणसीबाट शास्त्री कक्षा उत्तीर्ण गरेपछि आधुनिक जमाना अनुसार अङ्गे्रजी आवश्यक पर्ने भन्दै अङ्ग्रेजीमा बिए पनि उत्तीर्ण गर्नुभयो । जुन कुरा उहाँकै मुखबाट सुनेको हुँ ।

राजनीतिमा किन लाग्नुभयो भन्ने प्रश्न सोध्दा उहाँ भन्ने गर्नुहुन्थ्यो, “घरमा आफ्ना भान्जा दाइसँग पढ्दै गर्दा एक दिन गर्मीको समय शीतल बस्न भनी नजिकैको हटिया भन्ने स्थानमा हामी केही साथीहरू मिनेर गएका थियौँ । त्यसै सिलसिलामा एक जना युवकलाई साङ्लाले बानेर पुलिसले ल्याएको देखेँ । पुलिस भनेपछि त्यो बेलामा एकदमै डर लाग्थ्यो । त्यसैले हामीले पनि डराई डराई त्यो दृश्य देख्यौँ । केही समयपछि एक जना त्यतैतिरबाट आएका बाटो हिँड्ने मानिसलाई हामीले यी मानवलाई किन यसरी दुःख दिँदै बाँधेर लगेका हुन्, त्यसले के अपराध गरेको थियो र ? ती बटुवाले भने, राणाशासनको विरुद्ध बोलेकाले यिनलाई पुलिसले यसो गरेका हुन् ।” 

शास्त्री भन्ने गर्नुहुन्थ्यो, “राणा शासनले गर्दा जनताले यसरी दुःख पाएका छन् भन्ने उनीबाटै बुझ्यौँ । म अलि अन्याय नसहने मानिस भएकाले उनले राणाशासन र प्रजातन्त्रका लागि नेपाली कांग्रेसको भूमिकाबारे भनेका कुराले मलाई त्यतिखेरै प्रभाव पा¥यो । त्यसै दिन उनले हामीलाई नेपाली कांग्रेसको चारतारे झन्डा कापीमा कोरेर दिएका थिए । अनि त्यसै दिन अरू पनि मेरा साथीहरूको साथमा मैले भट्याउँदै नेपाली कांग्रेस जिन्दावाद, राणाशाही मुर्दावादको नारा लगाउँदै लात्तेमाझ र हटिया परिव्रmमा ग¥यौँ । मलाई त्यसरी पुलिसले निहत्था जनतालाई पशुलाई भन्दा पनि निर्मम तरिकाले बाँधेर लगेका देखेपछि राजनीतिक जीवनमा जाने प्रेरणा आयो ।” 

विसं २००९ मा नेपाली कांग्रेसको सदस्यता लिनुभएका शास्त्रीले त्यसपछिको २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसलाई विजय गराउन ठुलो भूमिका खेल्नुभयो । पछि राजा महेन्द्रले विसं २०१७ मा संसद् विघटन गरी प्रत्यक्ष शासन सुरु गरेपछि उहाँ त्यसको विरोधमा लागि जनसमुदायमा क्रान्तिको विगुल फुक्दै हिँड्नुभयो । कांग्रेसको पटना सम्मेलनले राजालाई यस खालको कदम फिर्ता लिन आग्रह गरे पनि राजाले नमान्दा कांग्रेसले सशस्त्र आन्दोलनको घोषणा ग¥यो । सशस्त्र आन्दोलनका बखत शास्त्रीले आफ्नो भूमिका अझै सशक्त बनाउँदै लैजानुभयो । घरमा बुवा सिकिस्त बिरामी अवस्थामा पनि उहाँलाई सरकारले पक्राउ पुर्जी जारी गरेको रहेछ । त्यतिखेर भने आफ्नी माताजीको योजना अनुसार भाग्न सफल हुनुभयो । पछि पिताजीको देहान्त भइसकेपछि भने उहाँलाई किरियाकर्मको अन्त्यपछि पक्रेर तम्घास राखी केही समयपछि पाल्पा जेलमा लैजाने तयारी भएका बेला चिदिकाका प्रधानपञ्च मानबहादुर ज्ञवालीको जमानीमा तारेखमा रहने गरी उहाँलाई छुटाइयो । त्यसपछि पनि गाउँ गाउँमा राजनीतिक चेतनाका लागि उहाँ भूमिगत हुँदै लागिरहनुभयो । बिपीसँग निरन्तरको सम्पर्कले उहाँमा समाजवादको चेतना पलाएछ । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका सङ्गतले पनि उहाँले धेरै कुरा सिक्नुभयो । २०४६ सालको परिवर्तन हुनुभन्दा पहिलेको समय राजनीतिक चेतना जगाउन र क्रान्तिमै केन्द्रित भई देशमा प्रजातन्त्र ल्याउन लाग्नु भयो । 

विसं २०४८ को आमनिर्वाचनमा शास्त्री प्रतिनिधि सभा सदस्यमा भारी मतले विजयी बन्नुभयो । बनारसमा सँगै बसेका एमालेका मोदनाथ प्रश्रित, जो उहाँका गुरुका पुत्र पनि हुनुहुन्थ्यो, निर्वाचनमा उहाँसँगै प्रतिस्पर्धा भएको थियो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा उद्योगमन्त्री बन्नुभयो । उद्योग क्षेत्रलाई व्यवस्थित गर्ने योजना ल्याउँदै गर्दा छोटो समयमै उहाँलाई मन्त्रीबाट बर्खास्त गरियो । त्यहीँबाट कांग्रेसमा अन्तर्घातको राजनीति सुरु भयो । अन्तर्घातको सिकार पहिल्लो पटक कृष्णप्रसाद भट्टराई हुनुभयो । उहाँलाई उपनिर्वाचनबाट पनि सांसद बन्नबाट रोकियो । यसको केही समयमा गिरिजाबाबुको नेतृत्वको तात्कालिक सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम कांग्रेसकै ३६ जना सांसदको अनुपस्थितिका कारणले पास हुन दिइएन । 

गिरिजाप्रसाद कोइरालाले आफ्नो पार्टीको एकल बहुमतवाला सरकार विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्नु परेको थियो । यसपछि भएको २०५१ सालको मध्यावधि निर्वाचनमा पनि शास्त्रीले अर्घाखाँची जिल्लाको क्षेत्र नं. २ बाट बहुमत हासिल गरी निर्वाचित हुनुभयो । एमालेको नौमहिने शासनकालपछि शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा १७ महिना जति पुनः उद्योगमन्त्री बन्ने सौभाग्य प्राप्त गर्नुभएको थियो । यसपछिका लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा सरकार पछिको २०५५ वैशाख महिनामा बनेको नेपाली कांग्रेसको सरकारमा उहाँलगायतका विद्रोही कांग्रेसी नेताहरूको पनि शक्ति सन्तुलन गर्न उहाँलाई लगभग पाँच महिना उद्योग तथा श्रम मन्त्रीमा नियुक्ति गरिएको थियो । पछि सो मन्त्रालय तात्कालिक मालेका भागमा परेपछि उहाँ स्वतः मन्त्रीपदबाट हट्नुभएको थियो । 

नेपालमा सर्वप्रथम पाँच विकास क्षेत्रलाई आधार मानेर सङ्घीयता मोडलमा देशलाई लैजानु पर्छ भन्ने शास्त्री पछिल्लो समय समाजवादका प्रखर व्याख्याता हुनुहुन्थ्यो । अहिले नेपालमा विभिन्न नेताले आफूलाई समाजवादी नेताका रूपमा परिभाषित गर्ने गरेका छन् । पार्टीको नाम पनि त्यसै अनुसार राख्ने गरेका छन् । उनीहरूको समाजवादमा विदेशीवादको गन्ध आउँछ । शास्त्रीबाट परिभाषित समाजवाद वेदवाणी ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्जनः’ मा आधारित थियो । यो समाजवादमा राजा, नेता एवं जनता सबैबाट देशसेवा गर्ने मोडेललाई राखिएको रहेछ । 

शास्त्री जस्तो स्वाभिमानी र स्वावलम्बी नेता पाएर पनि अर्घाखाँची कांग्रेसले त्यसको सदुपयोग गर्न सकेन । मन्त्री भएका समयमा उहाँसँग गएर फाइदा लिनेको मात्र ताँती लाग्थ्यो । सहयोगको सट्टा सरल स्वभावका उहाँलाई बरु कार्यकर्ताले नचाहिँदो रूपमा बदनाम गर्न लागे । स्वार्थ पूरा भएपछि धन्यवादको सट्टा उल्टो कुरा काट्दै हिँड्नेहरूले उहाँलाई अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि हुनबाट वञ्चित गराए । बिपी, गणेशमान र कृष्णप्रसाद पछिका नीतिनिष्ठ नेतालाई केन्द्रले पनि सम्मान गर्न सकेन । बरु पार्टी इतरका मानिसहरूले उहाँलाई सम्मान गरेका कारण उहाँले टिकट पाउँदासम्म भारी मतका साथ विजयी पनि हुनुभयो । उहाँ विसं २०५७ सम्म नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रूपमा रहे पनि त्यसपछि उहाँको योगदानलाई पार्टीले मूल्याङ्कन गर्नुको सट्टा उल्टो कारबाही ग¥यो । 

उहाँले कहिल्यै पनि कुनै पनि पद प्रतिष्ठाको लोभ गर्नु भएन । कांग्रेसले गणतन्त्रलाई नीतिगत रूपमा स्वीकार गरिसकेपछि उहाँ कांग्रेसमै बसिरहने सक्नुभएन । बिपीले स्वीकार गर्नुभएको र नेपालको माटो सुहाउँदो राजासहितको प्रजातान्त्रिक नीतिलाई उहाँले त्याग्न चाहनुभएन । उहाँलाई कैयौँ पटक समानुपातिक सांसद पद लिनका लागि अफर आए तर उहाँले आफ्नो विचार र स्वाभिमानलाई बेच्न चाहनुभएन । गिरिजाबाबुसँगको उहाँको लडाइँ पदका लागि नभएर विचारका लागि थियो । गिरिजाबाबुले उहाँलाई फकाएर गणतान्त्रिक कांग्रेसमा लैजान निकै प्रयास गर्नुभयो तर उहाँ जान मान्नुभएन । लोभ र व्यक्तिगत स्वार्थमा लागेका नेताहरूले जस्तो आफ्नो सिद्धान्त र विचारको स्वाभिमान त्याग्नुभएको भए उहाँ पार्टीले दिने मुलुककै जिम्मेवार पदमा पुग्नुहुन्थ्यो । उहाँको निधनले नेपाल आमाले एक असल स्वाभिमानी सपुत गुमाएकी छिन् भने कांग्रेसका स्वाभिमान कार्यकर्ताले असल अभिभावक । समाजवादका असल व्याख्याता, बिपीका अनुयायी तथा जनताका मनमनमा बस्ने स्वाभिमानी नेता शास्त्रीको आत्मले सधैँ शान्ति पाओस् । हार्दिक श्रद्धासुमन !