• १३ साउन २०८१, आइतबार

कास्की पहिरो अपटेड : मृतक पाँच जनाको सामूहिक दाहसंस्कार

blog

मृतक पाँच जनाको सामूहिक दाहसंस्कार गरिदै । तस्बिर : रासस

कास्की, असार २८ गते । कास्कीको पोखरा महानगरपालिका-१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँच जनाको सामूहिक दाहसंस्कार गरिएको छ । पुरुनचौरका कुलबहादुर परियारको घर गए रातिको पहिरोमा पुरिँदा उहाँको परिवारका छसहित सात जनाको मृत्यु भएको थियो । 

मृतकमध्ये पाँच जनाको आज साँझ माछापुच्छ्रे गाउँपालिका-२ स्थित सेती नदीको चिन्तेबगर घाटमा सामूहिक दाससंस्कार गरिएको स्थानीयवासी किशोरप्रसाद गौतमले जानकारी दिनुभयो । पहिरोमा मृत्यु भएका कुलबहादुरसहित उहाँकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना र छिमेकी राधिका परियारको सेतीमा अन्त्येष्टि गरिएको हो । 

मृतकहरुप्रति श्रद्धाञ्जलिका लागि पोखरा महानगर प्रमुख धनराज आचार्य, पोखरा-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, जनप्रतिनिधि तथा स्थानीयवासी पुग्नुभएको थियो । सोही घटनामा मृत्यु भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका बस्ने स्वर्गीय कुलबहादुरका छोरी प्रभा र ज्वाइँ अस्मित परियारको दाहसंस्कार भने अस्मितका बुबा वैदेशिक रोजगारीमा रहेकाले उहाँ स्वदेश आएपछि मात्र गरिने परिवारजनले जनाएको छ । 

मृतक दुई जनाको शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । कास्कीका तीन छुट्टाछुट्टै स्थानमा गए रातिको पहिरामा परेर ११ जनाको मृत्यु भएको थियो । रासस