• १२ साउन २०८१, शनिबार

कास्की पहिरोः कुलबहादुरलाई राती घरमा नबस्न छिमेकीले सल्लाह दिएका थिए

blog

कास्की, असार २८ गते । कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले बिहीबार राती देवर कुलबहादुरलाई भन्नुभएको थियो, ‘‘आज हामी सुत्नु हुँदैन । झ्याल ढोका खुला राखेर बस्नुपर्दछ ,पहिरो आयो भने भागौँला ।’’ 

सासुआमा ८५ वर्षीया लक्षिमा राधिकाको घरमा खाना खाएर सुत्न  देवरको घर जानुभएको थियो । साँझ छोरीज्वाईँ आएकाले राधिका पनि घरसँगै जोडिएको देवरको घर जानुभयो ।

सासुआमा ८५ वर्षीया लक्षिमा पिँढीमा बस्नुभएको थियो । अन्य सबै जना घरमा एउटै कोठामा हुनुहुन्थ्यो । राती १० बजेतिर राधिका देवरको घरबाट फर्किएको १२ मिनेट पनि भएको थिएन । उहाँ र श्रीमान् सुवर्ण कोठामा बसेर मोबाइल फोन चलाउँदै हुनुहुन्थ्यो । भूकम्प जस्तो भयो । दुवैजना डरले कोठाबाट बाहिर निस्कनुभयो ।

राधिका डरले पल्लोघरतिर भाग्नुभयो । श्रीमान् सूवर्ण भाईको परिवारलाई बचाउछु भनेर जाँदा टिनले छाएको ढुङ्गा माटोले बनेको एकतले घर पहिराले पुरिसकेकेको थियो ।

पहिरोले कुलबहादुर सहित आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना, २० वर्षीया छोरी प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियारलाई एकै ठाउँमा पुरेको थिए । पहिरोमा परेर उद्धारका लागि पुग्नुभएका छिमेकी राधिका परियारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुलबहादुरका १७ वर्षीय छोरा पवन भने हुत्तिएर बाँच्न सफल हुनुभयो । पवनलाई छिमेकीले उद्धार गरी अस्पताल लगेका थिए । घरमाथि अघिल्लो दिननै सानो पहिरो खसेको थियो । जमिन धेरै भिरालो नभएकाले थप पहिरो नजाला भन्ने अनुमान गरेपनि पानी निरन्तर परिरहेकाले त्रासले रातभर नसुत्ने योजनामा दुवै परिवार थिए ।

“अस्ति सानो पहिरो खसेको थियो । अब तल आउँदैन होला भन्ने भयो । आयो भने भाग्ने भनेर बसेका पनि थियौँ ।” राधिकाले भन्नुभयो उहाँकाअनुसार कुलबहादुरका ज्वाईँ र कान्छी छोरी राति छाता ओढेर घर माथितिर हेर्न जानुभएको थियो । माथि सामान्य रहेकाले चिन्ता नगर्न ज्वाईले भनेपछि उहाँ आफ्नो घर फर्किनुभएको थियो । “माथि हेरेर आएपछि ज्वाइँले भगवानले हाम्रो रक्षा गर्नुहुन्छ । पहिरो आउदैन भन्नुभयो । तर मैले लापरबाही गर्नुहुँदैन, आज सुत्नु हुँदैन भनेर हिँडेको केही समयमै गुर्र घरमाथि पहिरो खस्यो ।” उहाँले भन्नुभयो । कुलबहादुरलाई पहिराको त्रास भएपनि घरमा पाहुना आएकाले घर छाड्न नमानेको उहाँले बताउनुभयो ।

पहिराले राधिकाको घरको एक कोठामा पनि क्षति पुगेको छ । अर्को कोठामा बसेकाले उहाँ पहिराबाट जोगिनुभएको हो । राधिकाको सुत्ने कोठा पहिराले पुरिएको हो । गएराति आफू अर्को कोठामा गएर बसेकाले बाँच्न सफल भएको राधिकाले बताउनुभयो । पहिराबाट आफू जोगिए पनि देवरको पूरै परिवार सखाप भएकाले उहाँ विक्षिप्त हुनुहुन्छ । “जापान भएकी छोरीले अब कसरी आफूलाई सम्हाल्ली । कसरी खबर गर्नु, कस्तो दिन भोग्नु पर्योँ ।”राधिकाले आँखाबाट आँसु झार्दै भन्नुभयो ।

स्थानीयका अनुसार कुलबहादुरलाई पहिराको जोखिम रहेकाले घरमा नबस्न सल्लाह दिइएको थियो । छिमेकीहरुले वैकिल्पक व्यवस्था गर्न भनेका थिए ।  अर्को विकल्प नभएकाले कुलबहादुरको परिवारले घर छाडेन । पहिराको त्रासमा भने बसेको थियो ।

पोखरा–१९ का वडासदस्य विकास आचार्यले बिहीबार साँझ बजेतिर कुलबहादुरलाई खाना घरमै खाएपनि बास नबस्न आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“पानी परिरहेको छ, पहिराको जोखिम छ आजलाई खाना पकाएर खाएपनि  रात नबस्नु हामी अर्को व्यवस्था गछौँ भनेर निस्केको थिएँ, त्यसै गर्नुपर्ला भन्नुभएको पनि थियो । राति ठूलो आवाज सुनेँर बाहिर निस्कँदा अरुलाई पहिराले पुरिसकेको रहेछ । छोरालाई मात्र जोगाउन सफल भयौँ ।” रासस