• १२ साउन २०८१, शनिबार

इजरायली सेना पछि हटेपछि गाजा शहरमा ६० भन्दा बढी शव फेला

blog

गाजा, असार २८ गते । इजरायलको पूर्वी शहर शुजैयाको भग्नावशेषबाट ६० भन्दा बढी शव फेला परेका इजरायलको सरकारी समाचार संस्था वाफाले जनाएको छ ।

वाफाका अनुसार इजरायली हवाई आक्रमण र स्थलगत कारबाहीले शुजैयामा ८५ प्रतिशतभन्दा बढी आवासीय भवन ध्वस्त भएका छन् । रिपोर्टमा भनिएको छ, “सम्पूर्ण आवासीय भवनहरू भत्केका छन् । सडकहरू भत्केका छन् र यस क्षेत्रभरिका अन्य महत्त्वपूर्ण पूर्वाधार लक्षित गरिएको छ ।”

यसैबीच इजरायली सेनाले तेल अल–हवा क्षेत्र र गाजा शहरका अन्य केही स्थानमा आक्रमण जारी राखेको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले बुधबार एक विज्ञप्ति जारी गर्दै इजरायली सेनाले शुजैया क्षेत्रमा आफ्नो अभियान पूरा गरेको जनाएको छ ।

कारबाहीको अन्तिम दिन इजरायली सेनाले धेरै भूमिगत सुरुङ मार्गध्वस्त पार्नुका साथै सुरुङभित्र हातहतियार, ल्यापटप र सञ्चार उपकरण फेला पारेको विज्ञप्तिमा उल्लेख छ ।

आईडीएफले उक्त क्षेत्रमा ‘आतङ्कवादी र आतङ्कवादी संरचना’ हरूको उपस्थिति रहेको सङ्केत गर्ने गुप्तचर रिपोर्टहरूको आधारमा अभियान सञ्चालन गरेको बताएको छ र आक्रमण अघि ‘नागरिकहरूको क्षति कम गर्न’ धेरै कदम चालेको बताएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायलको दक्षिणी सीमाबाट गरिएको हमासको आक्रमणमा कम्तीमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।

गत २४ घण्टामा इजरायली सेनाको कारबाहीमा थप ५० जनाको मृत्यु भएको र अन्य ५४ जना घाइते भएको उल्लेख गरिएको छ ।

सन् २०२३ को अक्टोबरको सुरुमा प्यालेस्टाइन–इजरायल द्वन्द्व सुरु भएयता मृत्यु हुने प्यालेष्टिनीको सङ्ख्या ३८ हजार ३४५ पुगेको र ८८ हजार २९५ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस/रासस