• १२ साउन २०८१, शनिबार

पहिरोमा परी दुईको मृत्यु, सात घर पुरिए

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, असार २८ गते । हिमाली जिल्ला म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकमको आरखोलामा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । 

त्यस्तै, मनसुन पछिको बाढी पहिरोमा परी ७ घर र एउटा स्कुलको भवन पूर्ण क्षति हुनुका साथै १३ घर अति जोखिममा परेको छ ।

शुक्रबार बिहान पहिरोले घर पुरिँदा ६५ वर्षीय तुलप्रसाद न्यौपाने र उहाँकी पत्नी ४९ वर्षीय बालकुमारी न्यौपाने पुरिनु भएको थियो । प्रहरी चौकी मुना ताकमबाट प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीको कमाण्डमा गएको पाँचजनाको प्रहरी टोलीले पुरिएको घर पन्छाउँदा न्यौपाने दम्पती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । पहिरोले न्यौपानेको घर पूर्ण रुपमा क्षति भएको उहाँको भनाइ छ ।

मनसुनी वर्षाले गर्दा आएको पहिरोले गर्दा बेनी जोमसोम सडक र बेनी दरवाङ सडकसमेत अवरुद्ध भएको छ । मुस्ताङ जोड्ने बेनी जोमसोम सडकको विभिन्न छ स्थानमा पहिरोले अवरुद्ध भएको छ । पश्चिम म्याग्दी हुँदै बागलुङ तथा रुकुम जोड्ने बेनी दरवाङ सडकको घुमाउने भिरमा पहिरोले अवरुद्ध भएको रायमाझीको भनाइ छ ।