• १२ साउन २०८१, शनिबार

बिरिङ पुल भासिएपछि आवागमन बन्द

blog

फाइल तस्बिर

झापा, असार २६ गते । अर्जुनधारा नगरपालिका-७ स्थित बिरिङ नदीको पक्की पुल भासिएपछि आवागमन बन्द गरिएको छ । उक्त पुल पार गरी पश्चिमी इलाम जाने यातायातका साधनलाई नगरपालिकाले रुट परिवर्तन गरिदिएको छ ।

झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडसँग पश्चिम इलामको विभिन्न पालिकालाई जोड्ने विर्तामोड-शनिश्चरे-दानाबारी मार्गमा पर्ने उक्त पुल १५ वर्षअघि निर्माण भएको थियो । दुई दिनदेखि परिरहेको वर्षा र बाढीले पुल भासिने, चर्किने क्रम बढेपछि सवारी साधन र मानिसको आवागमन बन्द गरिएको अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले जानकारी दिनुभयो । उक्त पुल गत वर्ष पनि बाढीका बेला भासिएको थियो । उपप्रमुख पराजुलीका अनुसार नदीमा बाढीको प्रवाह बढेपछि पुल भासिँदै गएको हो । 

“कुनै दुर्घटना नहोस् भनेर पुलमा यातायातका साधन र मानिसको आवागमन हाललाई बन्द गरेका छौँ”, उहाँले भन्नुभयो । झापाको पुरानो व्यापारिक केन्द्र शनिश्चरेलाई खुदुनाबारीसँग सीधा जोड्ने उक्त पुलमा आवागमन बन्द गरिएपछि सवारी चालकहरु केही दुरी घुमेर अर्जुनधारा धाम र सिस्नेको अर्को रुटबाट सवारी साधन गुडाउन बाध्य भएका छन् । स्थानीय दिपीन राईले बिरिङ नदीमा नयाँ पुल निर्माण गरिनुपर्ने बताउनुभयो । उहाँले जीर्ण भइसकेका उक्त पुल बर्सेनि भासिने गरेको देख्दादेख्दै पनि पुनःनिर्माणमा सरकारको ध्यान नगएको गुनासो गर्नुभयो ।

विद्युतीय घेराबेरा बगायो

मेची नदीमा आएको बाढीले मेचीनगर-१ र ४ को सिमानामा पर्ने प्रसाद गौडामा जमिन कटान गर्दा हात्ती छेक्न जडान गरिएको विद्युतीय घेराबेराको तीन वटा पिलर बगाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दले विद्युतीय घेराबेरा बगाउँदा एक लाख बराबरको क्षति भएको जानकारी दिनुभयो । रासस