• ९ मंसिर २०८१, आइतबार

दुध किसानले पाए सोह्र लाख अनुदान

blog

गलकोट (बागलुङ),  असार २६ गते । जिल्लाका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत रु. १६ लाख ४२ हजार रकम भित्र्याएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दुधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ । 

केन्द्रले घाँस र मासुमा दिइने अनुदान आगामी आर्थिक वर्षदेखि कटौती गरेको जनाएको छ । घाँस र मासुमा दिने अनुदान प्रभावकारी नभएको देखिएपछि बन्द गर्न लागिएको केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले बताउनुभयो । दुधमा भने प्रतिलिटर रु. २.५ अनुदान दिँदै आइएको उहाँले जानकारी दिनुभयो । 

यसवर्ष सात वटा दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले सोझै उक्त रकम पाएका छन् । दुधमा आत्मनिर्भर गराउन महत्वपूर्ण भूमिका खेलका दुग्ध उत्पादन सहकारीमा आबद्ध किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिँदै आइएको केन्द्रले जनाएको छ । 

चालु आर्थिक वर्षमा केन्द्रले विनियोजन गरेको रु. २४ लाखमध्ये रु. १६ लाख ४२ हजार रकम सोझै किसानले पाएका केन्द्रका प्रमुख सापकोटाले जानकारी दिनुभयो । अनुदान पाउन एउटै सङ्कलन केन्द्रले दैनिक दुई सय लिटर दुध सङ्कलन र बजारीकरण गरेको हुनुपर्ने भएकाले व्यक्तिगत रुपमा दुध बिक्री गर्ने किसान मापदण्डमा नपरेका उहाँले बताउनुभयो । 

“संस्थागत रुपमा दुधको बजारीकरण गरेको तथ्याङ्कका आधारमा रु. दुई दशमलव पाँचका दरले अनुदान दिएका छौँ”, सापकोटाले भन्नुभयो, “सात वटा सहकारीमार्फत दुधको सङ्कलन र बजारीकरण गर्ने सहकारीमा आबद्ध किसानले मात्रै उक्त रकम प्राप्त गरेका छन् । सहकारीको खातामा राखिएको रकम सहकारीले सङ्कलन गरेको दुधको आधारमा पुनः किसानलाई भुक्तानी गर्दछ ।”

केन्द्रले बलेवाको कालीगण्डकी, जैमिनी, कालीमाटी, नमूना, मिलिजुली, पाला र बागलुङ पशु स्रोत दुग्ध उत्पादक सहकारी संस्थालाई प्रतिलिटर रु २.५ का दरले दुधमा अनुदान दिएको हो ।

सात वटै सहकारीले एक वर्षमा छ लाख ५६ हजार लिटर दूध सङ्कलन, प्रशोधन तथा बजारीकरण गरेका छन् । दुधमा अनुदान पाउँदा किसान दुध उत्पादनमा अग्रसर भएका स्थानीय रुद्रनाथ शर्माले बताउनुभयो । उहाँका अनुसार पशु सेवा केन्द्रले दिएको तथ्याङ्कको आधारमा जैमिनी नगरपालिकाले पनि स्थानीय पशुपालक किसानलाई रु २.५ का दरले दुधमा अनुदान दिन थालेको छ ।  रासस