• ३ असार २०८१, सोमबार

गुल्मीमा १५ मतदान स्थल अति संवेदनशिल

blog

तिलाचन पाण्डे
तम्घास, वैशाख १८ गते ।
गुल्मीका १५ वटा मतदानस्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ ।

जिल्लाको कालीगण्डकी, मालिका, मदाने, सत्यवती र चन्द्रकोट गाउँपालिका गरी १५ वटा मतदानस्थल अति संवेदनशील रहेको समितिले जनाएको छ ।

यस्तै ,४१ वटा मतदानस्थल संवेदनशील र ८६ वटा मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले संवेदनशील स्थलहरुमा सुरक्षालगायत अन्य हिसाबले प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।

मतदान स्थलहरुलाई वर्गीकरण गर्दा भूगोल, यातायात, जिल्लागत सीमालगायतका विषयहरुलाई आधार मानेर वर्गीकरण गरिएको हो ।

जिल्लामा कुल १४२ मतदानस्थल छन् भने मतदान केन्द्र भने २७९ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा सबैभन्दा कम इस्मा गाउँपालिकामा आठ वटा मतदानस्थल छन् भने सबैभन्दा बढी सत्यवती गाउँपालिकामा १६ मतदानस्थल रहेको निर्वाचन कार्यालयका नायब सुब्बा मेघलाल पाण्डेले जानकारी दिनुभयो ।

कालीगण्डकी र मदाने गाउँपालिकामा १०/१०, गुल्मीदरबार, रुरुक्षेत्र र मालिका गाउँपालिकामा ११/११, चन्द्रकोट गाउँपालिकामा १४ तथा छत्रकोट गाउँपालिकामा १० मतदानस्थल छन् ।

त्यस्तै, धुर्कोट गाउँपालिकामा ११ एवम् मुसिकोट र रेसुङ्गा नगरपालिकामा १५/१५ वटा मतदानस्थल रहेको  पाण्डेले बताउनुभयो ।

आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले मतदानस्थल र मतगणना स्थलहहरुको निरीक्षणलाई तीव्रता दिएको छ ।

निर्वाचन स्थल, मतगणना स्थल र शान्ती सुरक्षाको अवस्थाको बारेमा निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारी पुण्यव्रिकम पौडेलसहितको टोली कालीगण्डकी गाउँपालिका र सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पुगेको छ ।

सोही क्रममा कालीगण्डकी गाउँपालिकाका एमाले नेता शिबहरी ढकालले स्वच्छ,  शान्तिपूर्ण, भयरहित वातावरणमा मतदाताले मत खसाल्न पाउने गरी सुरक्षाको उचित प्रबन्ध मिलाउन आग्रह गर्नुभयो ।

यस्तै, एकीकृत समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष झवीलाल पाण्डेले मतदाताहरुलाई सहज रुपमा मतदान स्थलसम्म जान यातायातको प्रबन्ध मिलाइदिन आग्रह गर्नुभयो ।

कालीगण्डकी गाउँपालिकाका केही मतदान स्थल भौगोलिक कारणले विकट भएकाले पैदल हिडेर मतदानस्थलसम्म आउन सक्ने  अवस्था नरहेको उहाँले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले समितिले जिल्लाका सम्पूर्ण मतदानस्थल र मतगणना स्थलको निरीक्षण गरिसकेको जानकारी दिनुभयो ।

जिल्लामा दुई लाख २४ हजार २७६ जना मतदाता छन् ।  निर्वाचनका लागि एक सय ४२ मतदानस्थल छन् भने दुई सय ७९ वटा मतदानकेन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।