• १२ साउन २०८१, शनिबार

बाढी प्रभावितको जनजीवन केही सहज बन्दै

blog

बाढी प्रभावित भजनीको एक गाउँ। तस्बिर : राजेन्द्र रैका

अविनाश चौधरी

धनगढी, असार २५ गते। बाढी वितण्डाले तहसनहस पारेको कैलाली, कञ्चनपुरका बाढी प्रभावितको जनजीवन केही सहज बनेको छ। 

डुबानमा परेको घरबाट पानी निस्केपछि प्रभावितको जनजीवन सहज बन्न थालेको हो। हिजोदेखि मौसम सुधारसँगै नदीमा पानीको बहाव घट्दै गएको छ। बाढी घटेपछि विस्थापितहरू घर फर्कन थालेका छन्। उनीहरू घर सफा गर्नेदेखि लिएर आवश्यक अन्य काममा जुटेका छन्। 

सबैभन्दा बढी क्षति र नोक्सान भएको कञ्चनपुरमा धेरै प्रभावित घर फर्किसकेका छन्। धेरैजसो हिजै र अरू विस्थापितहरू आज घर फर्केको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनुभयो। 

उहाँले भन्नुभयो,“अत्यधिक मानिस घर फर्किसकेका छन्। अब फर्कन बाँकी विस्थापित धेरै छैनन्।”

कञ्चनपुरको भीमदत्त, दोधारा चाँदनी, पुनर्वास, वेदकोट नगरपालिका लगायतको पालिकामा महाकाली, चौधर र दोदा नदीको बाढीले डुबान गरेको थियो। डुबान भएपछि विस्थापित भएकाहरूलाई उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले हिजो पानीसहित सुख्खा खाना राहत उपलब्ध गराएको थियो। 

वडाहरूमार्फत राहत वितरण भएको जोशीले जनाउनुभयो। यसैगरी, निड्स नामक संस्थाले मेस चलाएर विस्थापितहरूलाई खाना खुवाएको थियो। कञ्चनपुरमा झन्डै दुई हजार व्यक्ति विस्थापित भएका थिए। 

यसैगरी, कैलालीका बाढी प्रभावित पनि घर फर्कनेक्रम सुरु भएको छ। आज केही परिवार घर फर्केको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो। उहाँले विस्थापित १५१ परिवारका करिब सात सय व्यक्ति घर फर्कन बाँकी रहेको उल्लेख गर्नुभयो। 

शुक्रबारबाट भएको अविरल वर्षाले कैलालीको तराई क्षेत्र जलमग्न भएको थियो। घर डुबेपछि मानिसहरू सडक, सुरक्षित भवनमा विस्थापित भएका थिए।