• १२ साउन २०८१, शनिबार

केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन

blog

तस्बिर : रासस

काठमाडौँ, असार २५ गते । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले आज निर्माणाधीन  पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिट्टो निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो । 

समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई निर्देशन दिनुभयो । समितिले दोस्रो पटक पुस्तकालय भवनको निरीक्षण गरेको हो । त्यसअवसरमा समितिलाई हालसम्म ८० प्रतिशत प्रगति भएको जानकारी गराइएको थियो । 

वि.सं.२०७२ को गोरखा भूकम्पमा क्षतिग्रस्त केशर पुस्तकालयको भवन वि.सं.२०७६ बाट प्रवलीकरण(रेट्रोफिटिङ) सुरु गरिएको थियो । दुई वर्षभित्र कार्य सम्पन्न गर्ने भनिए पनि छ वर्षसम्म पनि पूरा नभएकामा सांसदहरुले आपत्ति जनाएका थिए । समितिका सभापति शर्माले निर्माणमा भएको ढिलाइ र बाँकी काम कहिले सकिन्छ भनेर प्रश्न गर्नुभएकामा पुस्तकालय प्रमुख यादवले भवनको सेलिङ राख्न केही ढिलाइ भएको जवाफ दिनुभयो ।

त्यसका लागि बोलपत्रको समय नौ महिना थप गरिएको उहाँले जानकारी दिनुभयो । “चैतसम्ममा पुस्तकालय पूरै तयार हुन्छ भन्नेमा आशावादी छौँ”, उहाँले भन्नुभयो, “लगभग ८० प्रतिशत कार्यसम्पन्न भएको छ ।” यादवका अनुसार पुस्तकालयामा पुरातात्विक र नयाँ गरी ६५ हजार पुस्तक संरक्षित छन् । 

यहाँ एक हजार एक सय ५० वर्ष पुराना हस्तलिखित ग्रन्थ छन् । यिनको ‘डिजिटलाइज’ गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । पुस्तकालयका विषयमा सभापति शर्मा, सांसदहरु गोपाल भट्टराई, गोमादेवी तिमिल्सिना, गोपालकुमार बस्नेत, पदमबहादुर परियार, मदनकुमारी साह (गरिमा), युवराज शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा बिसी गरी १२ जनाले विभिन्न जिज्ञासा राख्नुभएको थियो । रासस