• १२ साउन २०८१, शनिबार

मौसममा सुधार भएसँगै बाढीपीडित घर फर्कँदै

blog

घर फर्किँदै बाढीपीडित । फाइल तस्बिर

महेन्द्रनगर (कञ्चनपुर) असार २५ गते । मौसममा क्रमशः सुधार भएसँग जिल्लाका बाढीपीडित घर फर्कन थालेका छन् । सोमबार अपराह्नसम्म वर्षाका कारण कञ्चनपुरका नौव टा पालिकाका चार हजारभन्दा बढी सुरक्षित स्थानमा सरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले आज बिहानसम्म दुई हजार सात जना घर फर्किएका बताउनुभयो । महाकाली नदीमा पानीको सतह घटेपछि आजदेखि बनबासा पुलमा आवागमन पनि खुलिसकेको जानकारी दिनुभयो । बाढी तथा घर डुबानमा परेका पीडितहरू विद्यालय, वडा कार्यालय, सार्वजनिक स्थान र आफन्तको आश्रयमा पुगेका थिए । 

दोधारा चाँदनी नगरपालिकामा पीडितहरू अम्बिका माध्यमिक विद्यालयमा सयौँ परिवार अझै बसिरहेका छन् भने भीमदत्त नगरपालिका-१२ ऐरीस्थित वडा कार्यालय भवन र वडा नम्बर १८ सालघारीस्थित मदन भण्डारी आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन् । भीमदत्त नगरपालिका-१८ का वडाध्यक्ष रवीन्द्र देवकोटाले मदन भण्डारी आधारभूत विद्यालयमा एक सय ३०, वडा कार्यालयमा एक सय र महेन्द्रनगर माविमा ६० जना पीडितले आश्रय लिएको बताउनुभयो । 

दोधारा चाँदनी, बेल्डाडी, बेदकोट नगरपालिकालगायत क्षेत्रका बस्ती डुबानमा परेपछि अन्यत्र सरेकाहरू घर फर्कने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा बाढीमा परी तीन किशोरी र एक सात महिने शिशुसहित चार जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । रासस