• १२ साउन २०८१, शनिबार

थोँचे–ताचै सडकखण्ड सुचारु

blog

पहिरोले अवरुद्ध नासोँ गाउँपालिका–५ थोँचेबाट वडा नं. ८ ताचै जोड्ने सडक सुचारु । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, असार २५ गते ।
निरन्तरको वर्षाले अवरुद्ध भएको सडक खुलाउन मनाङका युवाहरु लागिपरेका छन् । नासोँ गाउँपालिका–५ थोँचेबाट वडा नं. ८ ताचै जोड्ने सडक पहिरोले अवरुद्ध हुँदा आवतजावतमा समस्या परेको थियो ।

त्यसैलाई मध्यनजर गरेर वडा नं. ८ का वडाध्यक्ष याद घले र वडा नं. ४ का वडाध्यक्ष धर्मजंग गुरुङको विशेष पहलमा डोजर लगाई बाटो खुलाउने काम भएको ताचैको स्थानीय युवा यज्ञ घलेले जानकारी दिनुभयो । घलेका अनुसार अन्नपूर्ण युथ क्लबका अध्यक्ष बिन घलेको नेतृत्व तथा युवा साथीहरुको विशेष पहलमा सो अवरुद्ध सडक खण्ड खुलाइएको हो ।

सो सडक खण्ड खुलाइएसँगै वडा नं. ५ थोँचेबाट वडा नं. ८ ताचै जाने जाने सडक सुचारु भएको छ । साेमबारबाट कम वर्षा भएकाले अवरुद्ध सडक सुचारु गर्न सहज भएको हो ।

सदरमुकाम चामे जोड्ने सडक ६ दिनदेखि अवरुद्ध नै छ । तिमाङ झरनानजिकै रहेको पक्की पुल बाढीले बगाएपछि सडक सञ्जालबाट मनाङ टाढै छ । यसका लागि पनि प्रहरीको सहयोग लिएर पुल बनाउने कार्यमा जुटेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।