• २० असोज २०८१, आइतबार

चीन भ्रमण उपलब्धिमूलक : उपसभामुख राना

blog

चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएसँगै सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष र सदस्य सुहाङ नेम्बाङ ।

काठमाडौँ, असार २४ गते । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले चीन भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ ।  मित्रराष्ट्र चीनको सात दिने औपचारिक भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स–हिमालयन फोरममा भाग लिन उहाँ चीन जानुभएको थियो । उहाँले तिब्बतमा पर्यावरण, कला तथा संस्कृतिको संरक्षण र दिगो विकासका लागि भइरहेका प्रयासहरूबाट हामीले धेरै कुरा सिक्न जरुरी रहेको बताउनुभयो ।

भ्रमणका क्रममा उपसभामुखले असार २० गते उक्त फोरमलाई सम्बोधन गर्नुभएको थियो । उहाँले सम्बोधनका क्रममा चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बिचको सम्पर्क विस्तारका लागि ट्रान्स–हिमालयन प्लेटफर्मको महत्त्व रहेको धारणा राख्नुभएको थियो ।

उहाँले राष्ट्रहरूबिच साझा समृद्धि र विकास एवम् सहकार्यका लागि चीनको प्रयास सह्रानीय रहेको चर्चा गर्दै हिमालय क्षेत्रका देशहरू बिच कनेक्टिभिटी बढाउन, प्रकृतिमैत्री दिगो विकासलाई प्रवर्द्धन गर्न र आपसी सहयोग विकास गर्न फोरमले योगदान पुर्‍याउने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।

भ्रमणका क्रममा उहाँले चीनको स्वशासित क्षेत्र तिब्बतको लिजीमा उच्चस्तरीय भेटघाट पनि गर्नुभयो । चिनियाँ कम्युनिष्ट पार्टी पार्टीका उपसचिव चेन योङ्ची लगायत पदाधिकारीसँग भेटवार्ता गर्नुभएको थियो । उक्त भेटमा द्विपक्षीय सहयोगका बारेमा छलफल भएको थियो ।

त्यस्तै भ्रमण टोलीले धार्मिक तथा पर्यटकीय क्षेत्र मानसरोवर र कैलाश पर्वत, पोताला दरबार लगायतका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण गरेको थियो ।

भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्य सुहाङ नेम्बाङ तथा उपसभामुखका स्वकीय सचिव कुमार नेपाली समेत सहभागी हुनुहुन्थ्यो । फोरममा भाग लिन माननीय उपसभामुखको भ्रमण टोली यही असार १८ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

यसैगरी फोरममा सहभागी हुन चीन जानुभएका राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सोमबारै स्वदेश फर्कनुभएको छ । उहाँले फोरममा सम्बोधन गर्नुका साथै  चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ स्वायत्त क्षेत्र (तिब्बत) का पार्टी सचिव वाङ चुनचङसँग भेटवार्ता पनि गर्नुभएको थियो । भेटका अवसरमा निवर्तमान अध्यक्ष तिमिल्सिनाले नेपालको विकासमा चीन सरकारले पुर्‍याएको सहयोग लागि धन्यवाद दिनुहुँदै चीनसँग जोडिएका सीमा नाका बाह्रै महिना नियमित सञ्चालन गर्न, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासालगायत चीनका विभिन्न सहरबाट सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गर्नुभएको थियो । यसैगरी नेपालबाट हाइलेज (घाँस), राँगा र कुखुराको मासु र जुनारको तिब्बतमा आयात गर्न पनि आग्रह गर्नुभयो । कृषि क्षेत्रमा सहकार्य बढाउन नेपाललाई उन्नत जातको नस्ल, बीउ, बिरुवा र प्रविधि उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।