• २० असोज २०८१, आइतबार

बाढीबाट प्रभावितलाई सुरक्षित स्थानमा सारियो

blog

निरन्तर वर्षापछि आएको बाढी ।

भावना जोशी 

अत्तरिया, असार २४  गते । शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको बाढी र डुबानले कैलालीको १ सय ३६ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारका   ५ सय ९१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । 

शुक्रबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछिका बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको हो  । कैलालीको खुटिया, कान्द्रा, लगायतका नदीले सतह पार गरेपछि आसपास क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिङ बोहराले जानकारी दिनुभयो । 

उहाँहरूलाई सामुदायिक विद्यालय, सामुदायिक भवन र थारु भल्मन्साको घरमा राखिएको समेत उहाँले जानकारी दिनुभयो । बाढी तथा डुबानबाट कैलालीको पूर्वी  भूभाग बढी प्रभावित भएको छ । कान्द्रा र काँडा नदीका कारण भजनी नगरपालिका र जोशीपुर गाउँपालिका क्षेत्र डुबानमा परेका छन् । 

भजनी नगरपालिकाका वडा ५ र ७, जोशीपुर गाउँपालिकाका वडा ३ र ८ तथा टीकापुर नगरपालिकाको वडा ६ बाढी र डुबानका कारण प्रभावित भएका छन् । धनगढी उपमहानगरपालिका वडा १८ र १९ तथा गौरीगङ्गा नगरपालिकाका केही वडा समेत डुबानमा परेका छन् । 

ती ठाउँमा पनि रातिदेखि नै उद्धारको काम जारी राखेको बोहराले बताउनुभयो । आइतबार साँझदेखि वर्षा हुनेक्रम बढेपछि राति प्रभावितको सङ्ख्या समेत बढेको छ  । विभिन्न ठाउँमा सडक भासिएका छन् । कैलाली र कञ्चनपुर जोड्ने सडकमा कल्भर्ट भत्किँदा आवागमन ठप्प भएको छ ।