• ३ साउन २०८१, बिहिबार

मानव अधिकार संरक्षणमा एम्नेष्टीको चर्चा

blog

एम्नेष्टी इन्टरनेशनल नेपाल समूह १२ बुटवलको ३५ औँ साधारण सभा । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, असार २४ गते । एम्नेष्टी इन्टरनेशनल नेपाल समूह १२ बुटवलको ३५ औँ साधारण सभामा सो संस्थाको योगदानको चर्चा गरिएको छ । 

मानव अधिकारको क्षेत्रमा कार्यरत एम्नेष्टी इन्टरनेशनल नेपाल समूह १२ बुटवलको शनिबार बुटवलमा आयोजित साधारण सभामा मानवअधिकार क्षेत्रमा सो संस्थाको योगदानको चर्चा गरिएको हो ।

साधारण सभाले एम्नेष्टी इन्टरनेशनल नेपालको संशोधित विधानअनुसार साधारण सभाबाट चयन गर्नुपर्ने दुई जना क्षेत्रीय प्रतिनिधि पनि चयन गरिएको छ । साधारण सभाले क्षेत्रीय प्रतिनिधि समूहका संयोजक कवीन्द्र नेपाल र समूहका सचिव सपना रेग्मी लम्साललाई चयन गरेको छ ।

साधारण सभामा समूहका सल्लाहकार तथा पूर्व संयोजक शालिकराम वञ्जाडेले एम्नेष्टीले मानव अधिकारको रक्षा, प्रवर्धन र मानव अधिकार शिक्षामा खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै नेपालको सन्दर्भमा द्वन्द्वको समयमा यो संस्थाले धेरै काम गरेको स्मरण गर्नुभयो । 

कार्यक्रममा संस्थाका संयोजक कवीन्द्र नेपालले संस्थाले वर्षभरीमा गरेका गतिविधिको बारेमा जानकारी गराउँदै मानव अधिकारको संरक्षणका लागि गरेका प्रयासहरू सार्थक भइरहेको भनाइ राख्नुभयो । 

अहिले पनि मानवअधिकार उल्लङ्घनका घटना भइरहेको बताउँदै थुनामा रहेका बन्दीको मृत्युका विषयमा व्यापक प्रश्न उठेको बताउनुभयो । मानव अधिकारको सवालमा सरकारलाई जिम्मेवार र कर्तव्यबोध गराउन एम्नेष्टीले दबाब सिर्जना गरिरहेको जानकारी गराउनुभयो । 

त्यस्तै, एम्नेष्टी इन्टरनेशनल नेपाल बुटवल महिला समूह –३७ को पनि सातौँ साधारण सभा गरिएको छ । साधारण सभामा संस्थाका संयोजक समा श्रेष्ठले संस्थाले गरेका गतिविधिको बारेमा जानकारी गराउनुभयो ।