• ३ असार २०८१, सोमबार

ललितपुर महानगरपालिकामा काँग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा

blog

ललितपुर, वैशाख १८ गते ।  स्थानीय तहको निर्वाचनका लागि ललितपुर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली काँग्रेसका तर्फबाट चिरिबाबु महर्जन र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट हरिकृष्ण ब्यञ्जनकार मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो । यस पटक सत्ता गठबन्धनका कारण नेपाली काँग्रेसको तर्फबाट प्रमुखका लागि मात्र उम्मेदवारी परेको छ । त्यस्तै उपमेयरका लागि माओवादीका तर्फबाट बाबुराजा महर्जनको उम्मेद्वारी परेको छ । एमालेको तर्फबाट उपप्रमुखमा मञ्जिला शाक्यले उम्मेदवारी दिनुभएको छ । 

२९ वटा वडा रहेको महानगरपालिकामा स्वतन्त्रसहित १७ वटा राजनीतिक दलले आफ्ना उम्मेदवार उठाएका छन् । नेकपा एमालेका १३४ उम्मेदवार, नेपाली काँग्रेसका १३२, माओवादी केन्द्रका १०४, एकीकृत समाजवादीका ५४, राप्रपाका १०५ जना उम्मेदवार रहेका छन् । त्यस्तै स्वतन्त्रका ५३, जसपा नेपालका १६, राष्ट्रिय जनमुक्ति पार्टीका दुई, मङ्गोल नेसनल अर्गनाइजेसनका दुई, नेकपा मालेका दुई, जनमत पार्टीका दुई, विवेकशील साझाका १६, मौलिक जरो किलो पार्टीका एक, आमूल परिवर्तन मसिहा पार्टीका एक, नेमकिपाका १०, नेपाल सुशासन पार्टीका एक र नेस्नलिस्ट पिपल्स पार्टीका दुई उम्मेदवार रहेका छन् । 

अघिल्लो निर्वाचनमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले २४ हजार ६४२ मत प्राप्त गरेर विजयी हुनुभएको थियो भने उहँका प्रतिद्वन्द्वी हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ३१६ मत प्राप्त गर्नुभएको थियो । माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार ६६१ मत प्राप्त गर्नुभएको थियो । 

अघिल्ला वर्षको मत परिणामलाई हेर्दा पनि ललितपुरमा नेपाली काँग्रेस र एमालेका उम्मेदवारका बीच प्रतिस्पर्धा हुने देखिएको छ । दुई प्रतिस्पर्धीका आगामी चुनावी एजेन्डाका बारेमा उहाँहरूसँग गरिएको कुराकानीको भनाइ प्रस्तुत छ– 

चिरिबाबु महर्जन 

नेपाली काँग्रेसका उम्मेदवार

नेपालको संविधानले दुई पटकसम्म उम्मेदवारी हुन पाउने व्यवस्था गरिदिएको छ । म एक पटक प्रमुख भएर यस महानगरपालिकाका लागि निकै राम्रा काम गरिसकेको सबैलाई थाहै छ । पहिलो कार्यकालको सुरुका केही महिना योजना तर्जुमा, विस्तृत अध्ययन प्रतिवेदन बनाउँदा बित्यो । त्यसपछि कोभिड–१९ का कारण चाहेजतिको विकासको काम हुन सकेन । तर, भैपरी आएको काम धेरै भए । कोभिडको समयमा महानगरवासीलाई सुरक्षित राख्नका लागि हाम्रो ध्यान केन्द्रित रह्यो ।  

अबका दिनमा मेरो ध्यान पूर्ण रूपमा महानगरपालिकाको स्वास्थ्य, शिक्षा र रोजगारीको अवस्थामा सुधार गर्नमा केन्द्रित हुनेछ । विगत पाँच वर्षमा हामीले सुरु गरेका कुनै काम दुई तिहाइ र कुनै आधा सकिएका छन् । ती कामलाई पूर्णता दिनुपर्नेछ । हामीले तयार पारेका प्रोजेक्ट बैङ्कका निकै प्रोजेक्ट थन्किएका छन् । ती प्रोजेक्टलाई अगाडि बढाउन मेरो आफ्नो सोच, सीप र दक्षताको आवश्यक पर्छ । मैले ती सजिलै कार्यान्वयन गर्न सक्छु भन्ने विश्वास छ । म तीन पटकसम्म वडाध्यक्ष भइसकेको र महानगरको प्रमुखमा पनि सफल भएको व्यक्ति हुँ । विगतमा पाँच वर्ष गरेको भन्दा धेरै काम आगामी वर्षमा गर्न सक्छु ।

महानगरलाई जीवन्त सहर बनाउनु छ । वातावरणीय सुधार गर्नुपर्नेछन् । त्यसका लागि मेरो थुप्रै योजना छन् । हामीले फ्लाइ ओभरको अध्ययन गरायौँ । त्यसमा केही प्राविधिक समस्या प¥यो । जस्तो कि काठमाडौँ महानगरपालिकाले जापान सरकारको सहयोगमा माइतीघर त्रिपुरेश्वरसम्म फ्लाइ ओभर बनाउने योजना थियो । त्यो अहिले अगाडि बढाउन सकेका छैनौँ । ललितपुर महानगरले मात्र एकतर्फी गर्दा प्राविधिक रूपमा अलि नमिल्ने भएकाले हालका लागि स्थगन भएको हो । रद्द नै भएको होइन । काठमाडौँ तर्फको बन्ने भएमा हामी त्यसमा लागिहाल्छौँ । 

हरिकृष्ण ब्यञ्जनकार नेकपा एमालेका उम्मेदवार 

महानगरभित्रको भ्रष्टाचार हटाउन, सुशासन ल्याउन र ललितपुर महानगरपालिकालाई समृद्धि सांस्कृतिक महानगर बनाउने मेरो लक्ष्य छ । त्यस्तै शिक्षामा हामी आमूल परिवर्तन गर्छौं । अहिलेको परम्परागत ढर्राको शिक्षाले अबको दिनमा हुँदैन । स्वास्थमा पनि आमूल सुधार ल्याउँछौँ । महानगरभित्रका कोही पनि जनताले औषधोपचारको अभावमा मर्नुपर्ने छैन ।

सबैभन्दा ठूलो समस्याका रूपमा रहेको फोहोरलाई मोहर बनाउँछौँ । पाँच वर्षमा सबै बाटोघाटो पक्की हुनेछन् । वडाबाट प्रदान गरिने सेवा प्रवाहलाई डिजिटलाइज गरिनेछ । नक्सा पास, कर तिर्ने, तिरो तिर्नेजस्ता कार्य अनलाइनमार्फत नै हुनेछ । महिला तथा युवालाई स्वरोजगार बनाउने योजना हामीसँग छ । स्वरोजगारका लागि एउटा वडामा २० समूहलाई पाँच लाख रुपियाँका दरले निब्र्याजी ऋण प्रवाह गर्छौं । कर्मचारीलाई काम गरेबापत सुविधा बढाउँछौँ र भ्रष्टचारमा शूूून्य सहनशीलता अपनाउँछौँ । शिक्षालाई समयसापेक्ष बनाउने मेरो योजना रहेको छ ।