• १२ साउन २०८१, शनिबार

क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह

blog

प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही । फाइल तस्बिर

काठमाडौँ, असार २३ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्नुभएको छ। 

आइतबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री लामिछानेलाई क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न आग्रह गर्नुभएको हो। उहाँले उहाँले जीवी राईलाई पक्राउ गरेर ल्याउन पनि आग्रह गर्नुभयो। 

अझै सरकारको सात दिन बाँकी रहेको भन्दै उहाँले यो बिचमा भ्रष्टाचारको फाइल खोलेमा आफूको साथ र समर्थन रहने बताउनुभयो। उहाँले सुकुम्वासीलाई खोला किनाराबाट हटाउन काठमाडौँ महानगरपालिकाले पत्र पठाएर गृह मन्त्रीलाई पटक-पटक आग्रह गरेपनि प्रहरी नपठाएको बताउनुभयो। उहाँले गृहमन्त्रीले संसदमा आएर ठुलो कुरा मात्रै गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘संविधान संशोधन गरौँ। संविधानलाई परिवर्तन गरौँ। देशको हितमा छ भने संशोधन गरेर अगाडि बढाऔँ। हितमा छैन भने बुँदा कटौती गरौँ। हामीलाई जनताले यी पुराना ३३ वर्षदेखि देशलाई लुटे। गृहमन्त्रीज्यूलाई काम गर्ने कुरामा समर्थन छ, क्यान्टनमेण्ट घोटालामा कसको नाम छ ? रोष्टममा आएर बताउनुस्। हामी तपाईँलाई समर्थन गर्छौँ।’’

प्रमुख सचेतक शाहीले संविधान संशोधन गर्नुपर्ने बताउनुभयो। उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थामा जानुपर्ने बताउनुभयो।