• १९ असोज २०८१, शनिबार

सप्तकोसी नदीको ४६ वटा ढोका खोलिए

blog

सप्तकोशी नदी । तस्बिर: बाबुराम कार्की

पानीको बहाव तीन लाख ४२ हजार पुग्यो 

वराहक्षेत्र, असार २३ गते । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदै आएको छ । आज आइतबार बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको छ । 

हिजो शनिवार राति नौ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख १२ हजार ८३० क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताउनु भयो । यादवका अनुसार कोसीमा बाढी आउँदा नदीमा पानीको बहाव उच्च मापन गरिएको हो । अहिले ब्यारेजको ४६ वटा ढोका खोलिएको छ । 

सप्तकोसी चतरा जल मापन केन्द्रले शनिवार १० बजे राति ६ मिटर जल सतह पार गरेको जनाएको छ । जल सतह खतराको नजिक पुगेसँगै उदयपुर, सुनसरी,  सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने भागहरूमा उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ । 

पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च हुँदै गएको हो । कोसीमा पानीको जल सतह उच्च भए पनि कोसीले पूर्वी स्परहरुमा कुनै क्षति पु र्‍याएको छैन । राजावास, प्रकाशपुर, मधुवनलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ । कोशी नदीकाे भेल भने तटबन्धको नजिक आएको छ । 

Author

बाबुराम कार्की