• १९ असोज २०८१, शनिबार

बाढीको जोखिममा परेका १४ परिवार विस्थापित

blog

निरन्तरको वर्षाले चमेलिया नदीमा आएको बाढी । तस्बिरः लोकेन्द्र जोशी

लोकेन्द्र जोशी
दार्चुला, असार २२ गते ।
 दार्चुलामा बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवारले घर छाडेका छन् । मार्मा गाउँपालिकाको गन्याड खोलाको बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवार विस्थापित भएका हुन् । लगातारको वर्षाका कारण मार्मा गाउँपालिका–४ र ५ को बिचमा पर्ने गन्याड खोलाको बाढीले जोखिमका परेका खोला आसपास बस्तीका ९२ जना घर छाडेर विद्यालयमा बास बसेको मार्मा गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र महताले जानकारी दिनुभयो । लगातारको वर्षाका कारण आएको भलले गन्याड खोलामा बाढी आएको उहाँले बताउनुभयो ।

गन्याड दलित बस्तीका पाँच परिवार र बाँकी नौ परिवार मर्मती बस्तीका विस्थापित भएको बताइएको छ । बाढीको जोखिममा परेपछि केही घरपरिवारलाई स्थानान्तरण गरिएको मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो । मर्मती क्षेत्रका १४ घरधुरीका ४३ महिला र ४९ पुरुष गरी ९२ जनालाई स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । बाढीको जोखिमको डरले विस्थापित परिवारहरूलाई हटिनाथ आधारभूत विद्यालय र सूर्योदय आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार वर्षाको कारण दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ र ८ जोड्ने वडा नम्बर ८ पट्टीको झोलुङ्गे पुलको पर्खाल भत्किएपछि आवतजावत बन्द गरिएको छ । वर्षापछि सडक माथिबाट खसेको पहिरोका कारण मालिकार्जुन क्षेत्रमा महाकाली राजमार्ग समेत अवरुद्ध भएको छ । राजमार्ग खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शिवबहादुर सिंहले बताउनुभयो । निरन्तरको वर्षाका कारण नदी, खोला किनारमा बाढी र जिल्लाका अधिकांश क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन स्थानीय प्रशासन र पालिकाहरूले अनुरोध गरेका छन् । महाकाली र चमेलिया नदी तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेको छ ।