• १२ साउन २०८१, शनिबार

ठेउलेखोला जलविद्युत आयोजनाको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध

blog

तस्बिर : रासस

बलेवा (बागलुङ), असार २२ गते । अविरल वर्षसँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजनाको बाँध पुरिएको छ । जैमिनी-१ र वडा नम्बर ४ को बिच भएर बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो । 

कुश्मिसेरा, सुर्कवा व्याडथला सडकखण्डमा आएको पहिरोले उक्त बाँधमा क्षति पुर्‍याएको बारही हाइड्रोपावरका प्रशासन प्रमुख लीलानाथ पौडेलले बताउनुभयो । पहिरोका कारण बाँध पुरिँदा विद्युत उत्पादन पूर्णरुपमा बन्द भएको उहाँले जानकारी दिनुभयो । उहाँले १.५ मेगावट विद्युत उत्पादन हुने आयोजनालाई पुनः सञ्चालन गर्न समय लाग्ने बताउनुभयो ।

पहिरोले जैमिनी नगरपालिकाको केन्द्रबिन्दु कुश्मिसेराबाट सर्कुवा, जैदी, अर्जेवा, विनामारे, व्याडथाला जाने सडक पूर्णरुपमा अवरुद्ध भएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । जैमिनीको केन्द्र विन्दुबाट सबै वडा जाने ग्रामीण सडक बन्द भएका छन् । उपप्रमुख शर्माले भन्नुभयो, “यसै वर्ष स्तर वृद्धि गरेर कालोपत्र र ढलान गरिएको कुश्मिसेरा-सर्कुवा-व्याडथला खण्डमा गएको पहिरोले जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ । अविरल वर्षा भइरहेकाले तत्काल सडक स्तरोन्नति गरी सञ्चालन गर्ने अवस्था छैन ।” 

जैमिनी नगरपालिको केन्द्रबाट जाने अधिकांश सडक पहिरोले अवरुद्ध बनेका उहाँले जानकारी दिनुभयो । उपप्रमुख शर्माका अनुसार कालिगण्डकी कोरिडोर खण्डको विनामारेमा सडक माथिबाट आएको लेदोसहितको पहिरोले कोरिडोर अवरुद्ध बनेको छ । वर्षाका कारण जिल्लाको गलकोटबाट हिल हुँदै ताराखाला जाने सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

बागलुङ हुँदै म्याग्दीको बेनीबजार जाने खण्डअन्तर्गत बागलुङ नगरपालिका-४ बान्द्रेमा सडक माथिबाट आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले । रासस