• १९ असोज २०८१, शनिबार

पर्खालभित्र (कविता)

blog

मलाई थाहा छ

यो घरभित्र को छ ?

म प्रवेश चाहन्छु 

ढोका खोल 

होइन ! घरको पुरानो पर्खाल भत्काउँछु

त्यसपछि भेटमा के हुन्छ 

म पनि भन्न सक्दिनँ 

ढोका खोल 


प्रवेशका लागि कुरेर महिनौँ बसिरहेछु

बाहिर सडकमा उभिरहेछु 

प्रवेश पाएको छैन 

यस घरभित्र बस्नेलाई चिनेको छु

उसले चिनेको छ  

उसले मेरो अलिकति पसिना पिएको छ

सपना बोकेर आएको छ  

म एक पल्ट भेट्न चाहन्छु 

होइन भने ! यो पुरानो पर्खाल कि छैन 

कि म छैन  

त्यसपछि के हुन्छ 

म भन्न सक्दिनँ,


अस्ति विज्ञप्ति जारी गरेर 

मेरोविरुद्ध घोषणा गरेछ  

योभन्दा एक इन्च दया हुँदैन 

एक इन्च तलमाथि हुँदैन 

बाहिर आऊ 

म मेरो जीवनको मूल्य तोक्छु

तिम्रो जीवनको मोल तोक्छु

यो घर बनाउँदा मेरो रगतले हिलो मुछेको छु  

म कुनै बादशाहसँग नहारेको बाघ हुँ 

दयामा बाँच्न सक्दिनँ

बाघले के खान्छ थाहा होला, 


भित्र लुकेर अझ मेरो अस्तित्वमाथि धावा बोल्ने  

यो पर्खाल पहिले तोडेको थिएँ

कुनै शक्तिशाली बाघ हारेर निस्केको थियो 

आज फेरि अर्काे पर्खाल लाएर

तिमी बसेका छौ 

तिमीलाई भेट्न बाहिर कुरिरहेछु 

तिमीले हिसाबकिताब बिर्सेको ?

ढोका खोल 

होइन भने ! घरको पर्खाल भत्काउन तयार छु 

त्यसपछि के हुन्छ म भन्न सक्दिनँ ।

Author

प्राडा विष्णु राई