• २४ असार २०८१, सोमबार

बाढीले पक्की पुल बगाउँदा सडक सञ्जालबाट टाढियो चामे

blog

बढीले बगाएको पक्की पुल । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, असार २१ गते ।
यही असार २० गते बिहीबार गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएलगत्तै मनाङमा पूर्वतयारी थालिएको छ ।

मनसुन सुरु भएसँगै जिल्लाका विभिन्न खोलाखोल्सामा ठुलो बाढी आई जलसतह बढ्दा तिमाङ खोलाको काठेपुल बगाएको थियो । यसैगरी, निरन्तरको वर्षाले तिमाङ झरना नजिकको आरसीसी पुलमा ठुला ढुङ्गाले ठोक्किँदा भत्किएको र पुल नै बगाएपछि मनाङलाई जोड्ने एक मात्र सडक अवरुद्ध भएको छ ।

अहिले निरन्तर रुपमा वर्षा भइरहेको तथा विभिन्न निकायसँग समन्वय गरी छिट्टै अवरुद्ध सडक खुलाउन आफूहरु लागिपरेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीहरु सतर्कतासाथ लागिरहेका छौं, जहाँ क्षति भएको त्यहाँ भरसक कसरी हुन्छ यातायात सुचारु गर्नेतिर लागेका छौं ।’’ उहाँले तिमाङ खोलाको काठेपुल एक दुई दिनमै सञ्चालनमा आउने जानकारी दिनुभयो । पक्की पुलका लागि भने कम्तीमा १० दिनदेखि २ हप्तासम्म लाग्ने उहाँको भनाइ थियो ।

ढलानयुक्त पक्की पुलको सट्टामा बेलिब्रिज बनाउन पाए उत्तम हुने भए पनि सम्भव नभएको उहाँले बताउनुभयो । उहाँले डुम्रे–बेँसीसहर–चामे सडक आयोजना र मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनालाई कार्यगत समन्वयका लागि अनुरोध गरिएको बताउनुभयो । प्राविधिक रुपमा स्लगत सर्भे पनि गरिएको र कसरी हुन्छ तिमाङ झरनाबाट आउने बाढीको वेगबाट पुललाई सुरक्षित बनाउनेतर्फ सक्रियताका साथ काम भइरहेको छ ।

जलविद्युत् आयोजनामा काम गर्ने चिनियाँ टोलीसँगै मनाङका सांसदहरुले पनि बेँसीसहरबाट सो सडकखण्डको अवलोकन गरेको छ । टोलीले जसरी हुन्छ सडक सुचारु गर्ने गरी अनुगमन गरेको हो । अहिले हाइड्रोको डोजरले बाटो सफा गर्ने कार्य भइरहेको छ ।

सडक अवरुद्ध हुँदा जिल्लामा खाद्यान्न, औषधी, इन्धनलगायतका अत्यावश्यक वस्तुको अभाव हुने गरेको छ । स्थलमार्ग डुम्रे–बेँसीशहर–चामे सडक सञ्चालन गर्न सकस हुँदै आएको छ । बिरामीलाई उपचारका लागि अस्पताल पुग्न निकै कठिन हुन्छ । खाद्यान्न, औषधी, इन्धनलगायतका अत्यावश्यक वस्तुको अभाव हुन नदिन र कालाबजारी हुन नदिन जिल्ला प्रशासन कार्यालय सचेत रहेको प्रजिअ लामिछानेले बताउनुभयो ।

सोमबारदेखि लगातार परेको वर्षाका कारण बाढीले काठेपुल बगाउँदा डुम्रे–बेँसीशहर–चामे सडक पूर्णरुपमा अवरुद्ध छ । मनसुन सुरु भएसँगै स्थानीयवासीमा त्रास पनि बढेको छ । विशेष गरी मनाङलाई बाढीपहिरोको जोखिम क्षेत्र मानिन्छ । त्यसैले मनाङीलाई बाढीपहिरोको सधैँ त्रास रहन्छ ।

वर्षामा मनाङीले जोखिम र सकसपूर्ण अवस्था मोल्नुपर्ने बाध्यता रहेको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताउनुभयो । बाढीको बढी जोखिमयुक्त क्षेत्र मनाङको प्रवेशद्वार तालगाउँ हो । २०७८ असार १ गतेको बाढीले पूरै ताल गाउँ डुबानमा परेको थियो । अहिले पनि दैनिक रुपमा वर्षा भइरहँदा त्रासैत्रास डरैडरमा रात बिताउन परेको स्थानीयले बताएका छन् ।

गृह मन्त्रालयमा ‘भर्चुअल’ माध्यमबाट ‘कमान्ड पोस्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उहाँले देशभर मनसुन भित्रिएसँगै हुन सक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय पालिकासँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।

प्रदेश सरकार, निजी क्षेत्र, सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिनुभएको थियो ।

यसैबिच मनाङका सङ्घीय तथा प्रदेश सांसदहरुको टोलीले बेँसीसहरदेखि चामेसम्मको सडकको अनुगमन गरेको छ । सो टोलीमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुखलगायतको सहभागितामा स्थलगत अनुगमन गरी छिट्टै अवरुद्ध सडक सञ्चालन गर्ने तयारी भएको छ ।  तिमाङ झरना नजिकको आरसीसी पुलमा ठुला ढुङ्गाले ठोक्किँदा क्षति भएको थियो ।