• ८ मंसिर २०८१, शनिबार

पुस्तक पढ्ने बानी बाल्यकालमै

blog

काठमाडौँ, असार २१ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ ले बाल्यकालदेखि नै बालबालिकामा पुस्तक पढ्ने बानी लगाउनुपर्ने बताउनुभएको छ ।

उपकुलपति निभाले नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको सहकार्यमा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक गोष्ठीमा सो धारणा व्यक्त गर्नुभएको हो । गोष्ठीमा बालसाहित्य समाजका आजीवन सदस्य केशरी अम्गाईंले ‘बालबालिकामा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उपकुलपति निभाले भन्नुभयो, “मैले बाल्य र किशोरकालमा पढेका पुस्तककै कारण आज लेखकका रूपमा उभिन सकेको हुँ । बालबालिकाको मनोविज्ञानलाई पठन संस्कृतिमा आकर्षित गर्नुपर्ने दायित्व हामी सबैको हो ।” नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले प्रज्ञा–प्रतिष्ठान र बालसाहित्य समाजबिच सम्झौता गरेर बालसाहित्य शृङ्खलाको आयोजना गर्दै आएको जानकारी दिनुभयो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले बालबालिकाको पठन संस्कृतिमा शिक्षकसँगै अभिभावकको भूमिका पनि त्यत्तिकै महìवपूर्ण रहनेमा जोड दिनुभयो । बालसाहित्य समाजका सदस्य डा. सीतादेवी पन्थीले बालबालिकाको पठन संस्कृति र अभ्यासमा ह्रास आउनुमा शिक्षकको मात्रै दोष हुँदैन, अभिभावक पनि त्यत्तिकै चनाखो हुनुपर्ने बताउनुभयो ।

गोष्ठीका सभाध्यक्ष तथा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले बालबालिकाको पठन संस्कृतिसँग धेरै कुरा जोडिएका हुनाले यसको प्रवर्धनमा सबै पक्षको सहयोग र सहभागिता आवश्यक रहेको बताउनुभयो ।